इलाम : इलाममा नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहले ओलीको असंवैधानिक कदमको विरुद्ध सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

जिल्ला कमिटीका बहुमत सदस्यहरू उपस्थित रहेको दाबी गरिएको बैठकले पार्टी कमिटी परिचालन तथा सङ्घर्षका कार्यक्रम संयोजकको रूपमा भक्त केसीलाई जिम्मेवारी दिएको छ ।

केसीले पार्टी परिचालनका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध हुने कार्यक्रमको संयोजन गर्ने बताइएको छ ।

कार्यालय व्यवस्थापन समितिमा रणबहादुर राई, उदय राई र जेबी फिलिहाङलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ ।

आगामी पुस २५ गतेभित्र जिल्लाका सबै पालिकाहरूमा कार्यकर्ता भेला तथा प्रशिक्षणका कार्यक्रमहरू चलाउने निर्णय भएको कार्यालय सदस्य विजय खम्बुले जानकारी दिए । बैठकले कार्यालय सचिवमा प्रकाश परियार र सोम शर्मालाई नियुक्त गरेको छ ।

नेकपा केन्द्रीय सदस्य एवम् प्रदेश सांसद धिरेन्द्र शर्मा रमणको अध्यक्षतामा भएको बैठकमा नेकपा प्रदेश कमिटी सदस्य एवम् प्रदेश सांसद खिनु लुङ्वा लिम्बु, नेकपा प्रदेश सदस्यहरू उर्मिला तामाङ, मणिकुमार लिम्बु, ध्रुव श्रेष्ठ, नेकपा नेता प्रवीण तिम्सिना, राम राई लगायतको उपस्थिति रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य शर्माले अहिलेको संसद् विघटन असंवैधानिक कदम भएकाले सबैले आ-आफ्नो तह र तप्काबाट यसको विरुद्ध सङ्घर्ष गर्ने आग्रह गरे । उनले प्रतिगमनका विरुद्ध सबै निष्ठावान् कार्यकताहरुले आवाज बुलन्द गर्ने समय आइसकेको बताए ।

ilam-baithak-2

नेकपा प्रदेश कमिटी सदस्य मणिकुमार लिम्बुले नेकपा टुटफुट र विभाजनमा नलागी एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए । उनले प्रधानमन्त्रीको असंवैधानिक कदम जनताको जनादेशको अपमान भएकाले सबैले यसको विरुद्ध कदम चाल्नुपर्ने बताए ।

पार्टी कमिटी परिचालन तथा कार्यक्रम संयोजक भक्त केसीले अबको कम्युनिस्ट आन्दोलनको कार्यक्रममा आफ्नो भूमिका महत्त्वपूर्ण रहने बताए । उनले पार्टीबाट पाएको जिम्मेवारीलाई पुरा गर्दै सशक्त आन्दोलनका लागि आफू कटिबद्ध भएको बताए ।

जिल्ला समन्वय समितिको सभा हलमा भएको बैठक सचिव सोममाया राई सिन्धुले सञ्चालन गरेकी थिइन् । बैठकमा बहुमत जिल्ला कमिटी तथा सचिवालय सदस्यहरूको उपस्थिति रहेको कार्यालय सदस्य खम्बुले जानकारी दिए ।