धरान : सुनसरीको इटहरी र मोरङको केराबारीबाट गाँजा सहित तीन जानलाई प्रहरीले पक्राउ गरेको छ ।

गाँजाको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको केराबारी गाउँपालिका १ का २४ वर्षीय मान बहादुर लिम्बुलाई ७ सय ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।

लिम्बुले गाँजा ओसार पसारमा प्रयोग गर्दै आएको को १४ प ९२०९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।

यसै गरी मोरङ केराबारी १० खदम खोला एरियाबाट दुई जना गाँजा सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ केराबारी ७ का १७ वर्षीय विशेष राई र सोही स्थानका १९ वर्षीय विपिन लिम्बु रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय केराबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले २ केजी गाँजा सहित पक्राउ गरेको हो ।

यसरी गाँजा सहित पक्राउ परेका तिनै जना माथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको छ ।