झापा : प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहले शनिवार झापाको बिर्तामोडमा विरोध प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि आक्रामक बनेको प्रचण्ड-नेपाल समूह अहिले सडक सङ्घर्ष गरिरहेको छ।

विरोध सभामा बोल्दै पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार नभएको बताए। उनले दुई जना पाइलट रहेको ठुलो जेट विमानलाई एक जना चालकले दुर्घटना गराएको बताए।

भट्टराईले ओलीका कार्यकर्तालाई ओलीलाई धेरै नउकास्न आग्रह गरे। उनले भने, ‘अब ओलीको राजनीतिक जीवन समाप्त भयो। ओलीलाई अब आराम गर्न तपाईँ कार्यकर्ताले सुझाव दिनुहोस्। कार्यक्रमलाई सम्बोधन गर्दै विघटित प्रतिनिधि सभा सदस्य धर्मशीला चापागाईँले अहिलेको संविधान सहिदहरूको बलिदानको उपज भएको बताइन्।

प्रधानमन्त्री केपी ओलीलाई संविधान कुल्चिने कुनै अधिकार उनले बताइन्। विरोधसभा अघि प्रधानमन्त्री ओलीको कदमविरुद्ध चर्का नाराबाजी गर्दै प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ताले बिर्तामोड नगर परिक्रमा गरेका थिए।