इनरुवा : प्रदेश १ सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले प्रतिनिधि सभा विघटनले देश ठुलो दुर्घटना हुनबाट जोगिएको दाबी गरेका छन् ।

सुनसरीको दुहबीमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को क्षेत्र नम्बर ३ को क्षेत्रीय विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कुसियैतले सरकारले प्रतिनिधि सभा विघटन गरेकाले देश दुर्घटनाबाट जोगिएको बताएका हुन् ।

उनले शनिवार कार्यक्रमलाई सम्बोधन गर्दै देशमा विकास गरेको सरकारको काम हेरेर आतिएका पार्टीका नेताकार्यकर्ताहरुले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेको र प्रतिगामीलाई फाइदा पुग्ने काममा माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समूहले सहयोग गरेको थाहा पाएर प्रतिनिधि सभा विघटन भएकाले अव देश दुर्घटनाबाट जोगिएको र नयाँ जनादेशबाट निकास खोज्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा मन्त्री कुसियैतले पर्यटन र वनको क्षेत्रमा सुनसरीको धरान सहित प्रदेश भरी राम्रो काम भएको समेत स्मरण गराए ।

क्षेत्रीय भेलाका प्रमुख अतिथि नेकपाकी नेतृ भगवती चौधरीले पार्टीको संगठानिक र आगामी रणनीति तय गर्नका लागि भेलाले योगदान गरेको बताइन् ।

उनले विकास र समृद्धिको बाटोमा सरकार लागेको र ओलीले गरेको संसद् विगठन स्वागत योग्य कार्य भएको बताइन् ।

नेतृ चौधरीले नयाँ जनादेशबाट मात्रै निकास पाउने भएकाले निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्ताहरूलाई आग्रह समेत गरिन् । उनले देशमा ओली नेतृत्वको सरकारले राम्रो काम गरेकोमा केही पार्टीका नेताहरूले नै खुट्टा तान्न लागेको आरोप लगाइन् ।

नेकपामा विभाजन देखिएपछि प्रचण्ड–नेपाल समूह र ओली समूहले औपचारिकरुपमै विभिन्न भेला गर्न थालेका छन् । नेकपाको क्षेत्रीय भेलामा नेकपाका केन्द्रीय सदस्य रेवती रमण भण्डारी, खेमराज पोखरेल, मुरारी सुवेदी, निलम बस्नेत, जिल्ला नेता खड्गनारायण उराँव, रोहित कार्की , तैयव हुसेन, लक्ष्मी गौतम, सुरेन्द्र मेहता, बालिम चौधरी सहित स्थानीय , प्रदेश र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, इटहरीका उपप्रमुख लक्ष्मी गौतम, धरान उपप्रमुख मञ्जु भण्डारी सहित जिल्लाका पदाधिकारीहरू, निर्वाचित तथा पूर्व सांसद तथा प्रदेशसभा सदस्यहरू सहभागी थिए ।

कार्यक्रमबाट आगामी निर्वाचन र सङ्गठनको अवस्थाका बारेमा गम्भीर छलफल समेत भएको थियो ।