धरान : हरेक वर्ष आयोजना हुँदै आएको धरान १० के रन, नवौँ नेवा च्यारिटी आगामी फागुन ८ गते हुने भएको छ ।

धरान रन समूहले शनिवार धरान रनको कार्यालयमा पत्रकार सम्मेलन गर्दै फागुन ८ गते दौड प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ । समूहका अध्यक्ष रमु राईका अनुसार यसपालि विगतको भन्दा फरक तरिकाले दौड प्रतियोगिता आयोजना हुनेछ ।

कोभिड १९ को कारण विगतमा जस्तो भव्यरुपमा यसपालि नगर्ने, र बढीमा उत्कृष्ट धावक धाविका इलिट रनर्सहरुलाई मात्र १०० जना सहभागी गराउने निर्णय भएको धरान रनका अध्यक्ष राईले बताए ।

समूहका अनुसार पुरुषतर्फ १० किलोमिटर रुटमा ४० मिनेट रेकर्ड अवधि भएकाले मात्र सहभागी हुन पाउनेछन् भने महिलातर्फ ५० किलोमिटर रेकर्ड अवधि भएकाले मात्र सहभागी हुन पाउँछन् ।

यसको लागि सहभागीहरूले आफ्नो रेकर्ड देखाउनुपर्नेछ । विगतमा भन्दा कम समयमा समापन कार्यक्रम गरिने पनि उनले बताए । उत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकधाविकाहरु समावेश हुने र च्यारिटी कार्यक्रम पनि भएकोले दर्ता शुल्क भने १ हजार लिने उनले बताए ।

प्रतियोगितामा विगतमा जस्तो विभिन्न उमेर समूह नहुने भएकोले यस पटक खुला क्याटगोरी मात्र हुनेछ । महिला र पुरुषतर्फ पहिलो हुनेले नगद ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार पुरस्कार पाउनेछन् भने चौथो र पाँचौँ स्थान हुनेलाई पनि सान्त्वना पुरस्कार, मेडल र प्रमाणपत्र दिइने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

कार्यक्रमबाट खर्च कटाएर जोगाएको रकम धरान रन समूहको मातहतमा रहेको नेवा एजुकेसन फण्डमा जम्मा गरिने पनि अध्यक्ष राईले बताए । यो फण्डबाट सामुदायिक विद्यालयका २४ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइरहेको र निरन्तरता दिने समूहको भनाई छ ।