धरान : प्रदेश १ का बास्केटबल खेलाडी प्रदीप गुरुङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया भएको छ । 

पुस १५ गते अस्पताल भर्ना भएका गुरुङको हिजो आइतबार दुई घण्टा लामो मेजर शल्यक्रिया भएको थियो । प्रतिष्ठानका अर्थोस्कोपिक सर्जन प्रा.डा. विष्णु पोखरेलले उनको शल्यक्रिया गरेका थिए ।

पूर्ण रूपमा च्यातिएको एसिएल (एन्टिरियर क्रुसियट लिगामेन्ट) उनकै ह्यामिस्ट्रीङ्ग ग्राफ्ट झिकेर एसियल रिकन्सट्रक्सन गर्नुका साथै बाहिर पट्टीको केही भाग च्यातिएको ल्याटेरियल मिनिस्कस काटेर मिलाइएको प्रा. डा. पोखरेलले बताए ।

डा. पोख्रेलका अनुसार आज देखि नै गुरुङको थेरापी सुरु गर्ने र थेरापी सफल भए व्यवसायीक रूपमा नै खेलमा फर्कन सक्नेछन् । उनले करिब ६ महिना लामो थेरापी  गर्न पर्ने हुन्छ । 

लकडाउनको समय सेल्फ प्राक्टिसको क्रममा घाइते भएका प्रदेश १ बास्केटबल खेलाडी गुरुङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले निःशुल्क उपचार गरिदिने भएको छ । उनको उपचारको क्रममा प्रतिष्ठानमा लाग्ने सम्पुर्ण खर्च प्रतिष्ठानले निःशुल्क गरिदिन लागेको हो ।

देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने खेलाडीको महत्त्वपूर्ण भूमिका हुन्छ । उनीहरू राष्ट्रका गहना हुन । गुरुङलाई सहयोग गरेर बीपी प्रतिष्ठानले आफ्नो सामाजिक उत्तरदायित्व निभाएको प्रतिष्ठानका रजिस्टार डा. मोहन रेग्मीले बताए ।

प्रतिष्ठानमा लाग्ने खर्च बाहेक शल्यक्रियामा लाग्ने समानको मूल्यमा समेत छुटका लागि पहल गर्ने उनले बताए । शल्यक्रियामा लाग्ने समान बाहिर वाट खरिद गर्नुपर्ने हुन्छ ।

गुरुङ घाइते भए पछि धरान बास्केटबल सङ्घ र सुनसरी बास्केटबल सङ्घले गुरुङको उपचारको लागि अभियान चलाएका थिए ।

सहयोग सङ्कलनको लागि पुस ८ गते धरान टिम र झापा टिम बिच च्यारिटि मैत्रीपूर्ण बास्केटबल म्याच समेतको आयोजना गरिएको थियो ।

च्यारिटि वाट गुरुङलाई करिब २ लाख ७० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । गुरुङको उपचार धरान बास्केटबल सङ्घ र सुनसरी बास्केटबल सङ्घको पहलमा भएको हो ।