धरान : सुनसरी कार्यक्षेत्र बनाएर विभिन्न सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मीलाई नेपाली काँग्रेस निकट प्रेस युनियन सुनसरीले कोरोना बिमा प्रदान गरेको छ ।

धरानको सेछ होटलमा एक कार्यक्रमको आयोजना गरी कोरोना संक्रमित भई निको भएका सुनसरीका ९ जना पत्रकारलाई कोरोना बिमा रकम हस्तान्तरण गरेको हो ।

नेपाल प्रेस युनियनको अभियानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सहित पत्रकारको सम्मानजनक पहिचान भन्ने मूल नाराका साथ स्थापना कालदेखि नै सञ्चारकर्मीहरूको हकहितका लागि काम गर्दै आएको प्रेस युनियन सुनसरीले सुनसरीका सक्रिय पत्रकार निर्मल कार्की, नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, औजार दैनिकका दामोदर गुरागाई, कोशी पत्र दैनिकका रोशन दाहाल, विमला तिम्सिना, कृष्ण अधिकारी, शिशिर राई, कपुरी न्यूजकी संजीता धमला र मकालु खबरका भरतराज शर्मा (गोपाल) लाई जनही एक लाखको दरले बिमा रकम प्रदान गरेको हो ।

सो अवसरमा बोल्ने अधिकांशले सङ्क्रमितहरूलाई सञ्चार गृहले कुनै सहयोग नगरेको अवस्थामा प्रेस युनियन सुनसरीले गरेको कार्यको प्रशंसा गरेका थिए ।

प्रेस युनियनले सुनसरीका २ सय ६० जना सञ्चारकर्मीहरूको कोरोना बिमा गरेको थियो । त्यस मध्ये सुनसरीका ३० जना सञ्चारकर्मी कोरोना संक्रमित बनेका थिए । यस भन्दा अगाडि २१ जना सञ्चारकर्मीहरुले बिमा बापतको रकम पाइसकेका थिए भने आज थप नौ जनाले प्राप्त गरेका हुन् ।

नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षतामा सम्पन्न बिमा रकम हस्तान्तरण कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, कृष्ण अधिकारी, गिरिराज आचार्य, नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष राजेश विद्रोही, ब्लाष्ट टाइम्सका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ, औजार प्रकाशनका अध्यक्ष मोतीराज सुनुवारले प्रेस युनियनको कामको प्रशंसा गरेका थिए । सोही कार्यक्रममा मस्तिष्क पक्षघात भई उपचारत सञ्चारकर्मी दिलीप रिनोहङलाई नगद १० हजार सहयोग समेत प्रदान गरिएको थियो ।