विराटनगर : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा। शिवमाया तुम्बाहाङफेले आगामी वैशाखमा तोकिएको समयमा निर्वाचन हुने बताइन् ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यसका लागि निर्वाचन आयोग, सुरक्षा संयन्त्र र आर्थिक व्यवस्था मिलाएको जानकारी दिइन् ।

मन्त्री तुम्बाहाङफेले सरकारलाई जनताको कम गर्नका लागि अवरोध सिर्जना गरिएकोले ताजा जनदेशका लागि जनतासमक्ष जान लागिएको बताउँदै संसद् विघटन कार्य संवैधानिक रहेको दाबी गरिन् ।

उनले संसद् पुनर्स्थापना हुने नहुने सम्बन्धमा आफू निर्णायक नभएको प्रस्ट पार्दै यस सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा रहेकोले त्यहीबाट व्याख्या हुने विचार राखिन् ।

मन्त्री तुम्बाहाङफेले वर्तमान सरकारले धेरै काम गरेको छ भन्दै जनताको स्वास्थ्य सुरक्षा प्रमुख दायित्व रहेकोमा आवश्यक बजेट विनियोजन गर्नुका साथै मौलिक हक सम्बन्धी १६ ऐनका नियमावली बनाइ कार्यान्वयन भएको र त्यस मध्ये खाद्य प्रभुसत्ता मात्र बाँकी रहेको जानकारी दिइन् ।

एक प्रश्नको जवाफमा उनले प्रदेश सभाका सम्बन्धमा यसको क्षेत्राधिकार, ऐन र नियमावली भएको चर्चा गर्दै राष्ट्रिय राजनीतिको प्रभाव यसमा पर्न सक्ने बताइन् ।

नेपाल कम्युनिस्ट (नेकपा) पार्टी विभाजन नभई एउटा समूह निस्केर जान लागेको बताउँदै अहिले पनि समय रहकोले मिलेर जान सकिने विचार व्यक्त गरिन् ।