धनकुटा : प्रतिनिधि सभा विघटन विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको युवा सङ्घ नेपालले धनकुटामा प्रदर्शन गरेको छ ।

धनकुटाको भीमनारायण चोकबाट सुरु भएको विरोध प्रदर्शन भीमसेन थान, बीचबजार, परिचय मोड, चुवाको बोट, हुलाक टोल हुँदै मदन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

विरोध प्रदर्शनमा प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी भएको थियो ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम विरुद्ध सडकमा उत्रिएको प्रचण्ड र नेपाल पक्षले ‘नेकपा’ नाम र ’सूर्य’ चुनाव चिन्हमा पनि दाबी गर्दै आएको छ ।

नेकपाको मदन चोकमा भएको आमसभामा नेकपा धनकुटाका सचिवालय सदस्य अर्जुन राईले कम्युनिस्टको नाममा केपी ओलीले संविधानको हत्या गरी नागरिकको अधिकार खोसेर कम्युनिस्ट पार्टी प्रतिको आकर्षण समाप्त गरेको बताए ।

उनले केपी ओलीले भारतको इसारामा अहिले सम्मका उपलब्धि समाप्त पार्न लागेको आरोप लगाए । उनले अहिलेसम्मका उपलब्धि रक्षा गरेर मात्रै आराम गर्ने बताए ।

नेकपा प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा विगठनलाई असंवैधानिक भएको भन्दै आन्दोलन गर्दै आएको छ । धनकुटामा प्रचण्ड र माधव नेपाल पक्षीय युवा सङ्घले मसाल जुलुसको तयारी गरेको भए पनि स्थानीय प्रशासनले मसाल जुलुस नगर्न अनुरोध गरेपछि विरोध प्रदर्शन गरेको थियो ।

Dhankutama-birodh-1