धरान : धरान प्रहरीले खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान १३ बस्ने २४ वर्षीय सचिन प्रधान, मोरङको केराबारी ५ का २४ वर्षीय सन्दीप राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार सोमबार बिहान १० बजे सचिन प्रधानलाई शङ्कास्पद फेला पारी उनको शरीरको खानतलासी गर्दा पेन्टको गोजीमा लुकाएको अवस्थामा १ ग्राम खैरो हेरोइन फेला परेको थियो ।

सचिनसँग फेला परेको खैरो हेरोइनको बारेमा सोधी खोजी गर्दा मोरङको केराबारी गाउँपालिका वडानं। ५ बस्ने सन्दीप राईबाट खरिद गरेको खुलेको थियो ।

सोही अनुसार सन्दीपलाई खोजी गर्दा धरान ६ पानबारीमा प्रहरीले फेला पारेको थियो । उनको शरीर चेक जाँच गर्दा ७ सय मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ परेका दुवै जनालाई आज जिल्ला अदालत सुनसरीबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।