विराटनगर ः प्रदेश १ मा आज २८ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङ र सुनसरीमा ८–८, झापामा ५, सङ्खुवासभामा २, धनकुटा, उदयपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५, बेलबारी, बुढीगंगा र सुन्दरहरैचामा १–१, सुनसरीको धरान र इटहरीमा ३–३, इनरुवा र दुहबीमा १–१, झापाको शिवसताक्षी र कनकाईमा २–२ र बिर्तामोडमा १, सङ्खुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका १–१, धनकुटाको महालक्ष्मी, उदयपुरको त्रियुगा र पाँचथरको हिलिहाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार ९१३ पुगेको छ । प्रदेश १ मा आज ३८२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र २० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १० हजार ३३१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरू सबै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २८ हजार ८४२ पुगेको छ ।