चतरा : वराहक्षेत्र-११ मधुवनका सूर्यनारायण महत्त्वले २०६६ सालमै तत्कालीन माध्यमिक तह एसएलसी पास गरेका थिए । तर त्यो समय पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण माथिल्लो कक्षामा अध्ययन गर्ने अवसर उनले पाएनन् ।

उच्च शिक्षा अध्ययन गर्न मनमा तीव्र चाहना हुँदा हुँदै पनि उनी शिक्षा आर्जन गर्न कलेज जान सकेनन् । बरु उनी पासपोर्ट बोकेर पैसा कमाउन मलेसिया जान बाध्य भए ।

मलेसियामा ३ वर्ष र दुबईमा २ वर्ष रोजगारी गरेर स्वदेश फर्किएका सूर्यनारायणले २०६६/०६७ सालको त्यो शिक्षा आर्जन गर्ने चाहनालाई फेरी बिउत्याएका छन् । ०६६ सालमा १६ वर्षको उमेरमा मधुवनमा रहेको जनता माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका सूर्यनारायणले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ मा भर्ना समेत भएका छन् । उनी हाल २७ वर्षका छन् ।

चरम गरिबिका कारण उच्च शिक्षा प्राप्त गर्ने अवसरबाट वञ्चित सूर्यनारायणको परिवारको आर्थिक अवस्था वैदेशिक रोजगारले उकासी दिए पछि १० वर्ष पहिलाको आफ्नो शिक्षा लिने चाहनालाई निरन्तरता दिएका हुन् । उनी आफूले कक्षा १० सम्म अध्ययन पूरा गरेको जनता माध्यमिक विद्यालयमै कक्षा ११ मा भर्ना भएका छन् ।

सूर्यनारायणले स्वदेशमा स्वरोजगार बन्ने उद्देश्यले अटो समेत खरिद गरेका छन् । उनी बिहान विद्यालय सोही अटो मै आउँछन् । भने दिन भर बजारमा अटो कुदाउँछन् । सूर्यनारायणका अनुसार कतै रिजर्भ भए दिनमा १५ सय माथि र लोकल टिप भए ५ सय देखि ८ सय दैनिक कमाई हुने बताउँछन् ।

उनले अटो कुदाएर थोरै थोरै रकम बचाएर विद्यालयको पुस्तकालयमा पाठ्य पुस्तक समेत सहयोग गरेका छन् । सूर्यनारायणले सोमवार विद्यालयका प्रधानाध्यापक गङ्गाप्रसाद यादवलाई ९० थान कक्षा ११ को अनिवार्य नेपाली पाठ्यपुस्तक समेत हस्तान्तरण गरेका छन् ।

आफू गरिबिको चेपटाले गर्दा समयमै अध्ययन पूरा गर्ने नसकेको अवस्था अरू कसैलाई नहोस् भन्ने उद्देश्य राखेर पुस्तक प्रदान गरेको सूर्यनारायण बताउँछन् । अटो चलाएर कमाएको रकमबाट जोगाएर ८ हजार रकम बरावरमा पुस्तक खरिद गरेर उनले बिद्यालयमको पुस्तकालयलाई उपलब्ध गराएका हुन् ।

सरकारले शिक्षालाई सुलभ बनाए पनि पाठ्यपुस्तक समयमै उपलब्ध र विद्यालयले सबैलाई प्रधान गर्ने वातावरण नभएकाले गरिब समुदाय बढी भएको मधुवन क्षेत्रका बिद्यार्थीहरुलाई अध्ययन गर्न सहज होस भनेर पुस्तक प्रधान गर्ने सोच जागेको सूर्यनारायणले बताए ।

प्राय: न्यून आए र अशिक्षित समुदायको बाहुल्यता रहेको बस्तीमा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीले पुस्तक प्रदान गरेको पहिलो भएको विद्यालयका प्रधानाध्यापक गङ्गाप्रसाद यादवले बताए ।
उनले सूर्यनारायणकै जस्तो उदार छाती बनाएर विद्यालयमा सहयोग गरी विद्यालयको शैक्षिक उन्नयन र बिद्यार्थीहरुमा शैक्षिक टेवा पुर्‍याउन आग्रह समेत प्रधानाध्यापक यादवले गरे।