विराटनगर : प्रदेश १ मा अहिले सम्म कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् ।

सक्रिय सङ्क्रमित मध्ये ३९१ जना होमआईसोलेसनमा, नोबेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा ३–३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ जना उपचार रहेको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा. रवीन्द्र निरौलाले बताए ।

उनका अनुसार अस्पतालमा उपचाररत मध्ये ५ जना आइसियु र १४ जना सामान्य बेडमा छन् । आज सम्म २९ हजार ९२८ जना संक्रमित मध्ये २९ हजार ५६ जना डिस्चार्ज भएका छन् । सङ्क्रमण देखिएका ४६२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २१४ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २०६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन ।

आज १५ जना संक्रमित थपिएका छन् । मोरङको विराटनगरमा ७, बेलबारी, जहदा र सुन्दरहरैचामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३ र झापाको बिर्तामोड र शिवसताक्षीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २ लाख १० हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ ।