धरान : इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले धरानमा लागुऔषध विरुद्ध कठोर बन्ने भन्दै 'क्लिन धरान' नामको स्वीप अप्रेसन चलाएको बताएका छन् ।

धरानमा लकडाउनको चहलपहल खुले सँगै धरानमा बिस्तारै लागुऔषध ओसार पसार गर्ने, प्रयोग गर्ने, सेवन गर्ने र लागुऔषध प्रयोग नगरे पनि सञ्चय गर्नेहरूलाई निगरानी राख्दै जनशक्ति थप गरी धरानमा (क्लिन धरान) नामक स्वीप अप्रेसन चलाएको डिएसपी बस्नेत बताउँछन् ।

धरानमा अधिकांश युवाहरू लागुऔषधको प्रयोगकर्ता बन्दै आएका छन् । सवारी साधनमा हिडेकाहरुलाई चेक गर्दा पनि लागुऔषध भेटिन थालेको प्रहरीले बताएको छ ।

प्रहरीले पक्राउ परेकाहरूको अभिभावक बोलाएर सम्झाएर पठाउने गरे पनि त्यही सम्झाएर पठाएकाहरू नै ठुलो मात्राका लागुऔषध सहित पक्राउ पर्न थालेको प्रहरीले बताएको छ ।

'लागुऔषध विरुद्ध शून्य सहनशीलता कायम गर्ने हामी हरेक क्षेत्रमा निगरानी बढाएका छौ, रातभर नसुती हामी खटेका छौ' डिएसपी बस्नेतले भने ।

क्लिन धरान स्वीप अप्रेसन पछिका ३ सफलता :

मङ्गलवार राती चेक जाँचमा खटिएको प्रहरी टोलीले हरियालीमा को २० प ६४११ नम्बरको स्कुटरमा सवार रहेका धरान ८ का अरुण टोल बस्ने वर्ष ३७ को शुक्रराज मोक्तान र धरान व १९ बस्ने वर्ष ३० को दिपेश श्रेष्ठ खैरो हेरोइन सहित पक्राउ परे ।

Khairo-Heroin-pakrau

उनीहरूको साथबाट प्रहरीले खैरो हेरोइन ९ नौ ग्राम फेला पारेको छ । उनीहरू दुवै खैरो हेरोइन ओसार पसारमा संलग्न भएको खुलेको छ ।

त्यसै गरी मंगलबारनै धरान-६ पानबारी स्थित धरान केराबारी सडक खण्डबाट केराबारीबाट धरानतर्फ आउँदै गरेको को। १६ प ९७९२ नं. को पल्सर मोटरसाइकलमा सवार रहेका धरान १५ अरुण टोल बस्ने वर्ष ३० को प्रेम तामाङ धरान-८ बस्ने वर्षीय २४ को जोन तामाङलाई लगाएको हेलमेट भित्र लुकाई छिपाई बोकेको खैरो हेरोइन १  ग्राम फेला परेको थियो । उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्दा उनीहरू पनि लागु औषध खैरो हेरोइन ओसार पसारमा संलग्न रहेको पाइएको छ ।

यस भन्दा अघि सोमबार धरान-१३ का २४ वर्षीय सचिन प्रधान, मोरङको केराबारी-५ का २४ वर्षीय सन्दीप राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको पेन्टको गोजीमा लुकाएको अवस्थामा १ ग्राम खैरो हेरोइन प्रहरीले फेला परेको थियो ।

पक्राउ परेका सबैलाई सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी कार्यालय थप अनुसन्धान गरी रहेको प्रहरीको भनाइ छ ।

बस्नेतले कपुरी न्युजसँग भने 'थप जनशक्ति परिचालन गरी चोक-चोक गल्ली-गल्लीमा प्रहरी खटाएर शङ्कास्पद व्यक्तिहरूलाई निगरानीमा राखेका छौ ।

लागुऔषध मुद्दामा कैद सजाय काटेर आएकाहरूले पुन: लागुऔषध कारोबारी गर्न थालेको थाहा पाएपछि सादा पोसाकका प्रहरीहरूलाई पनि खटाएको डिएसपी बस्नेतले बताएका छन् ।