झापा : भारतका बिभिन्न राज्यमा कुखुरा तथा अन्यपन्छीहरुमा बर्डफ्लुको संक्रमण देखिएपछि नेपालमापनि उच्च सतर्कता अपनाउन थालिएको छ ।

करीब १ सातादेखि भारतमा देखिएको बर्ड फ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि बिभिन्न नाकामा कडाइ गर्ने भएको हो । झापामा पनि यस बिषयलाई लिएर उच्च सतर्कता अपनाईएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले भारतसँग १४३ किलोमिटर खुल्ला सिमा भएका कारण आफुहरुले उच्च सतर्कता अपनाएको बताएका छन् । सिमामा आवातजावतमा रोक लगाईएको भएपनि बिभिन्न बहानामा नेपाल आउँने र भारत जाने क्रम भने नरोकिदा समस्या आउँन सक्ने प्रति आफुहरु सचेत बनेको उनले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि जिल्ला तथा स्थानीय निकायहरूलाई सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने थप जनशक्ति तथा मेशिनरी सामग्रीहरू चाहिएमापनि जानकारी गराउन निर्देशन दिइसकेको बताइएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र झापाका प्रमुख डा. बिनय श्रेष्ठले बर्ड फ्लूको संक्रमण आउँन नदिन तथा आईहालेमा रोकथामका प्रक्रिया अघि बढाउने बारेमा आफुहरुले योजना बनाईरहेको जानकारी दिए ।