इटहरी : नेपाल तरुण दल इटहरी उपमहानगर समितिले उपाध्यक्षमा मनोनीत गरेका मनोज लिम्बुको पद खारेजी गरेको छ ।

यही पौष १५ गते नगर समितिको बैठकबाट मनोनीत भएका लिम्बुले तरुण दलको साधारण सदस्यता नलिएको भन्दै खारेजी गरिएको हो ।

लिम्बुलाई मनोनीत गरिएको बारे नगर सभापति विष्णु खत्रीले २२ गते तरुण दल सुनसरीलाई बोधार्थ बुझाएका थिए । सोही पत्रका आधारमा जिल्ला समितिले निर्णय सच्याउन भन्दै पुनः पत्राचार गरेको छ ।

सोही बैठकबाट मनोनीत भएका अन्य एक उपाध्यक्ष र एक सचिवको हकमा भने जिल्ला समितिले कुनै प्रतिक्रिया जनाएको छैन । अध्यक्ष सिजन गुरुङ द्वारा लेखिएको पत्रमा अब उप्रान्त हुने मनोनयनमा प्रचलित विधानमा रहेको मर्म तथा व्यवस्थालाई पुर्णरुपमा कार्यान्वयन गर्न गराउन निर्देशन गरिएको छ ।

उता मनोनयन खारेजीको बारेमा नगर सभापति विष्णु खत्रीले नगरको अधिकार भित्र रहेर कार्य गरेको बताए । जिल्ला समितिले खारेजी गरेको विषयमा विधान हेरेर केही दिनमा नयाँ कदम चालिने उनको भनाई छ । मनोज लिम्बुलाई नगरको क्षेत्राधिकार भित्र रहेर मनोनीत गरिएकोले वहाँ हाम्रो उपाध्यक्ष नै रहने उनले प्रस्ट पारे ।