झापा : इलामको माङ्सेबुङ गाउँपालिका-२ भोटेडाँडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

रवि-दमक सडक खण्डमा रविबाट काठको गोलिया बोकेर दमक तर्फ आउदै गरेको ना ३ ख २०५ नम्बरको ट्रक दुर्घटना हुँदा पाँचथर मिक्लाजुङ गाउँपालिका बस्ने ३५ वर्षीय किरण राईको मृत्यु भएको हो ।

ट्रक सडकबाट अनियन्त्रित भई बाटोबाट करिब २ सय मिटर तल खस्दा घाइते भएका राईको उपचारको लागि दमक तर्फ ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभएको छ ।

शवलाई दमक अस्पतालको शव गृहमा राखिएको छ । चालक ताप्लेजुङ मेले गाउँपालिका-१ बस्ने २० वर्षीय प्रमोद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

झापामा ट्रकले ठक्कर दिंदा बालकको मृत्यु

यसैगरी झापाको शिवसताक्षी नगरपालिका-११ दुधेको भित्र सडक खण्डमा ट्रकले साईकलमा यात्रा गरिरहेका स्थानीय १३ बर्षीय बालक भिम बहादुर राईलाई ठक्कर दिंदा बालकको मृत्यु भएको छ ।

बिहिवार बिहान मे १ ख ३३९२ नम्बरको ट्रकले ठक्कर दिंदा घाईते भएका बालकको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझीलेले जनाएको छ ।