पथरी : मोरङको उत्तरी क्षेत्र लेटाङमा अपरिचित ब्याक्तिको नियन्त्रणमा परेका ३ बालबालिकाहरू लाई स्थानीयको सहयोगमा उद्धार गरिएको छ ।

लेटाङ ७ वारङगीको खोलाघारी घर भएका वर्ष १२ की सुमित्रा राई वर्ष ११ का छविलाल लिम्बू र वर्ष १० का कुशल लिम्बू लाई लेटाङ २ पैँतिस बिघेबाट उद्धार गरिएको हो । शुक्रवार बिहान जोगी भेषका अपरिचित व्यक्तिको सम्पर्कमा उनीहरू पुगेका थिए ।

लेटाङ २ का स्थानीय भोला पौडेलले बेलबारी जाने क्रममा शङ्कास्पद व्यक्तिसँग बालबालिकालाई देखे पछि बुधबारे प्रहरी चौकीमा खबर गरेका थिए । स्थानीय र प्रहरीको सहायतामा अभियुक्तलाई नियन्त्रणमा लिएर बालबालिकाहरुको सकुशल उद्धार गरिएको हो ।

प्रहरीका अनुसार बिहीबार बिहान आफ्नो बुवा लाई भेट्न भनी बेलबारी हिँडेका ३ जना बालबालिकाहरू रात परेपछि बेलबारी नपुगी पछि लेटाङ २ पैँतिस बिघेमा परालको माचमा राती सुतेका थिए ।

सोही बेला जोगी भेषका ती ब्याक्तीले बालबालिकालाई सहर पुर्याइ दिने भन्दै लिएर हिँडेको प्रहरीले जनाएको छ । ती ब्याक्तीको पहिचान भने प्रहरीले खुलाएको छैन ।

हाल बालबालिका सहित उक्त ब्याक्ती इलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा रहेका छन् भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।