धरान : स्थानीय तहमा कथित ठुला योजनाको हल्ला गरेर स्थानीय राजनीति गर्ने प्रवृत्ति नेपालमा बढेको छ । यसले सानातिना ठानिने स्थानीय विकासमा दीर्घकालीन असर गर्न सक्ने समस्या ओझेलमा पर्दै आएका छन् । धरानमा यस्तै ओझेलमा पर्दै आएको ठुलो प्राकृतिक विनाशका घटना भएको तिन दशक नाघेपछि बल्ल रोकथाम गर्ने काम हुने भएको छ ।

तिन दशक भन्दा अघि गएको पहिरोले धरानको सर्दु खोलालाई गरेको अवरोध पन्छाउने कार्य राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको बजेटबाट हुन लागेको हो । करिब पाँच सय वर्ग मिटर भीरको भित्ता झरेर गएको पहिरोको थुप्रानले खोला बग्ने ८० प्रतिशत भाग अवरुद्ध गरेको छ । सर्दु खोलाले पुर्‍याएको क्षतिका बारेमा नगरपालिकाले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको हो । 

तर पहिरोको थुप्रानका कारण खोलाले बाटो परिवर्तन गर्दा तल्लो भागमा हुने बाढीको कटानमा मात्र सरकारी बजेट खर्च हुँदै आएको थियो । समस्याको मुख्य कारण पहिरोको थुप्रान पन्छाएर खोलालाई प्राकृतिक बाटोमा फर्काउने काममा अहिले सम्म ध्यान गएको थिएन । मेयर तिलक राईले भने ‘ढिलै भएपनि उपमहानगरपालिका मुख्य समस्या सङ्घीय सरकारलाई बुझाउन सफल भएको छ ।’ उनका अनुसार राष्ट्रपति चुरे संरक्षणको १ करोड बजेट बाट पहिरोको थुप्रान पन्छाउने काम शुरुहुने भएको हो । 

धरान वडा २० तत्कालीन विष्णुपादुका गाविसको कालिखोला सालबोटे स्थित पश्चिमी क्षेत्रमा उक्त पहिरो पहिलो पटक २०४३ सालमा गएको हो । तत्काल रोकथामको कुनै काम नहुँदा २०४५ सालको भूकम्पमा पहिरो थपिएर सर्दु खोला बग्ने दुई तिहाइ बाटो बन्द गरेको हो । वातावरणको क्षेत्रमा कार्यरत स्थानीय आनन्द श्रेष्ठले भने ‘स्थानीय राजनीतिका कारण पहिरो पन्छाउने भन्दा पहिरोले पूर्वतिर बढाएका समस्यामा अहिले सम्म सरकारी बजेट खर्च हुँदै आएको थियो ।’

पश्चिम तर्फ गएको पहिरोले खोलाको बाटो थुनेपछि धरान वडा १३, १६ का सर्दु किनारका सहरी क्षेत्र बर्सेनि कटानमा पर्दै आएको छ । धरान–१३ स्थित भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालय, सङ्घीय प्रहरी इकाई कार्यालयका पछिल्ला भागहरू बर्सेनि कटानमा पर्दै आएका छन् । श्रेष्ठले भने ‘पेन्सन अफिसको परिसर चार मिटर बढी कटान भैसकेको छ यसपालिको  बाढीमा मात्र दुई मिटर कटान भएको छ, प्रहरी कार्यालय आवास क्षेत्रमा ट्वाइलेट कटानमा परेर भत्किएको छ ।’

सर्दुको धार परिवर्तन लाई बेलैमा प्राकृतिक दिशामा फर्काउन नसके कुनै पनि बेला विपत्ति आउन सक्ने अवस्था विद्यमान छ । सर्दुको किनारमा जोडिएका वडा ११, १७ का भागहरूमा बढेको बस्तीमा त्यसैले ठुलै क्षति पुर्‍याउन सक्छ । मेयर राईका अनुसार पहिरोको थेग्रान पन्छाएर खोला लाई पुरानै धारमा फर्काउने कार्य योजना चुरै संरक्षण विकास समितिले तयार गरेको छ । उनले भने ‘सङ्घीय सरकार बाट योजनामा लगानी गर्न  उपमहानगरपालिकाले प्रस्ताव गरेको हो, चुरेले टेन्डर मार्फत काम सुरु गर्ने भएको छ ।’

योजना अनुसार पहिरोको थेग्रान पन्छाएर पुनः खोलामा पहिरो आउनबाट रोक्नका लागि टेवा पर्खाल लगाइने छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्र पोखरेलले भने ‘पहिरो विशाल देखिन्छ, त्यो हटाउन स्काभेटर, बुल्डोजर लगायतका भारी मेशिनरी सामान चाहिने भएकोले त्यस्तो प्रविधि सञ्चालनको स्वीकृति दिइएको छ ।’ पहिरोका कारण खोलाको बहाव क्षेत्र परिवर्तन भई धरान बजारको माथिल्लो खण्ड नै कटानको जोखिममा पर्ने भएकाले जोखिम न्यूनीकरणका लागी चुरे रिटेनिङवाल लगायतका संरचना निर्माण गर्ने योजना रहेको उनले बताए । 

Pahiro-anugaman-3
तस्विर : पहिरो स्थलको पृष्ठभूमिमा स्थलगत अनुगममा गएको मेयर, प्रजिअ सहितको टोली तस्विर खिचाउँदै / मेयरको सचिवालय

वातावरणीय दृष्टिले खोलाको बाटो फर्काउन टेवा पर्खाल बाट मात्र उक्त पहिरो क्षेत्रको स्थायी समाधान हुन्न । श्रेष्ठका अनुसार माथिल्लो क्षेत्रबाट धान खेतको पानी बगेर पहिरो क्षेत्रमा आइरहने भएकाले स्थायी समाधानको लागि त्यहाँ जैविक इञ्जिनीयरिङको पनि प्रयोग गर्नुपर्छ । पहिरो क्षेत्र भन्दा माथिल्लो भागमा मानव बसोबास छ । त्यहाँको समतल फाँटमा धानखेती हुने गरेको छ । धान खेत बाट बगेर आएको पानीको कुलो पहिरो क्षेत्रमा स्थायी रूपमा खस्ने गरेको छ । 

कमेरो र कालो माटोले बनेको भीरमा निरन्तर पानी सिञ्चित हुँदा उक्त क्षेत्रमा जहिल्यै पनि भू-स्खलनको सम्भावना रहन्छ । उनले भने ‘एक पटक टेवा पर्खाल लगाएर मात्र हुन्न निरन्तर रेखदेख र वैज्ञानिक बोट बिरुवा पनि जरुरी हुन्छ ।’ यसपालि चुरेले रोकथामका लागि विनियोजन गरेको एक करोडको बजेटले थेग्रान पन्छाउने बाहेक अन्य काम हुने सम्भावना देखिन्न । पहिरोको खतरा विद्यमान नै रहने उनको भनाई छ ।

पहिरोका कारण सर्दुको बढ्दो खतराको स्थायी रोकथाम ओझेलमा परेको बेला धरानमा सर्दु कोरिडोर नामक अर्का ठुलो योजना चर्चामा छ । सर्दु खोलाको पूर्वी किनारै किनार बनाउने भनिएको सडक योजना निकै महत्त्वाकाङ्क्षी भएको नेकपाका धरान इन्चार्ज चोत्लुङ लिम्बुले बताए । कोरिडोर धरान-१९ सर्दु पुल बाट वडा १७, ११ हुँदै वडा १७ को जानकी चौक सम्म बनाइने प्रस्ताव छ । सर्दु कोरिडोर नामैले पनि उक्त सडकको स्थायित्व सर्दु खोलामा निर्भर छ । चोत्लुङ भन्छन् ‘सडकको अवधारणा सँगै सर्दुको व्यवस्थापनका योजना बनाउनु पर्छ ।’