इटहरी : नेपाल तरुण दलका युवाहरू बिच इटहरीमा झडप भएको छ ।

नेपाली काँग्रेस क्षेत्र नम्बर २'क' ले आयोजना गरेको विरोध सभामा तरुण दलका युवाहरू बिच झडप भएको हो ।

नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष विकास केसीले सम्बोधन गरिरहेको अवस्थामा दुई पक्षबिच झडप भएको हो । उनका अनुसार सुरुमा सामान्य ठेलाठेल भएको र पछि झडपको स्थिति देखा परेको थियो । झडपमा परी ५ जना तरुण दलका कार्यकर्ता घाइते भएका छन् ।

नेपाल तरुण दल सुनसरी सभापति सिजन गुरुङ र इटहरी नगर सभापति विष्णु खत्री समूह बिच झडप भएको हो । खत्रीले पुस १५ गते नगर उपसभापतिमा मनोनीत गरेका मनोज लिम्बुको विषयलाई लिएर दुई समूह बिच विवाद उत्पन्न भएको थियो । खत्रीले मनोनीत गरेका लिम्बु तरुण दलको सदस्य नभएको भन्दै जिल्ला सभापति गुरुङले खारेज गरेका थिए ।

विधान विपरीत मनोनयन गरिएको भन्दै लिम्बुको मनोनयन खारेज भएको थियो । उता खत्री पक्षले भने आफूहरूले नगर समितिको अधिकार प्रयोग गरेको दाबी गरेको छ ।

विधानको कुरा गर्ने हो भने जिल्ला सभापति गुरुङको पदावधि सकिसकेको उनीहरूको भनाई छ । पदावधि सकिएको समितिसँग खारेजीको अधिकार नभएको खत्री पक्षको आरोप छ ।