धरान : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै नेपाली काँग्रेसले आज धरानमा वृहत् विरोध प्रदर्शन गरेको छ ।

नेपाली काँग्रेस केन्द्रको निर्देशन अनुसार संसद् विघटनका विरुद्धमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ (क) ले आज धरानमा दोस्रो चरणको विरोध प्रदर्शन गरेको हो । धरान-१२ अमान बजारबाट सुरु भएको विरोध र्‍याली भानुचोकको लोकतान्त्रिक चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो ।

NC-1 1

विरोध सभामा नेपाली काङ्ग्रेसकी पूर्व केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधिसभाका संसद् मिना सुब्बाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो बहुमतको सरकार हुँदाहुँदै पनि संसद् विघटन गरेर जनताको संविधानमा लात हानेको आरोप लगाइन् ।

असंवैधानिक, अलोकतान्त्रिक भएको भन्दै उनले नेकपा सरकारले संविधानमाथि कुठाराघात गर्नुका साथै संविधानमाथि 'कु' भएको बताइन् । उनले जनताको पक्षमा नेपाली काँग्रेस सदैव खडा हुने बताइन् । कम्युनिस्ट सरकार भ्रष्टाचार, शक्ति र आफन्तवादमा लिप्त भएको उनले बताइन् ।

NC-4

ओली सरकारले संविधानलाई असंवैधानिक बनाउन लागेको बताउँदै त्यसलाई पुनर्स्थापना गर्न काँग्रेसको मुख्य एजेन्डा रहेको उनले बताइन् । उनले आगामी वैशाखमा चुनाव नहुने दाबी गरिन् ।

प्रदेश नं. १ का प्रदेशसभा सदस्य एवं काँग्रेसका नेता चन्द्रप्रसाद श्रेष्ठले ६२-६३ मा यसरी नै आन्दोलन गरेर राजा ज्ञानेन्द्र शाहलाई धपाएको बताउँदै आज त्यही समय पुनः आएको बताए ।

उनले भने, ‘संविधानलाई छुरी हानेर, संविधानलाई कुल्चेर, त्यो भन्दा माथि केपी ओलीले संविधान विघटन गरेको छ ।’ उनले पनि कम्युनिस्ट सरकारले जनता माथि कुठाराघात गरेको बताए । जनताको हितका लागि नेपाली काँग्रेस सदैव मैदानमा उत्रने उनले बताए ।

नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठले जनताले पाँच वर्षका लागि नेकपालाई सरकार चलाउन दिएको बताउँदै आज त्यो जनमतको अपहेलना भएको बताए । नेकपा सरकारले जनताको पक्षमा काम नगरेको उनको भनाई थियो ।

NC-2 1

नेपाली काँग्रेस सुनसरीका सचिव सुजेन्द्र गोले तामाङले सिङ्गो नेकपाका नेताहरू दोषी रहेको बताउँदै चुनावमा हारेका मान्छेहरूलाई जबरजस्ती राष्ट्रियसभाको सदस्यमा नियुक्ति गरेको आरोप लगाए ।

नेकपाले सरकारलाई सुसञ्चालन गर्न नचाहेको, जनतालाई सुशासन दिलाउन नचाहेको र जताततै भ्रष्टाचार गरेको उनको आरोप थियो । कम्युनिस्ट सरकारले अदृश्य शक्तिको आडमा मुलुकलाई यो अवस्थामा पुर्‍याएको उनले दाबी गरे ।

विरोध सभामा नेपाली काँग्रेस धरानका पूर्व नगर सभापति किशोर राई, नेपाली काँग्रेस केन्द्रीय महिला विभागकी सचिव लक्ष्मी खतिवडा, नेपाली काँग्रेस धरानका नगर उपसभापति राजेन्द्र राई लगायत नेताहरूले सम्बोधन गरेका थिए ।

काँग्रेसले आज देशभरका ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो । काँग्रेसले माघ ३ गते ७ सय ५३ वटै स्थानीय तह र ८ गते ६ हजार ७ सय ४३ वडाहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

NC-3 3