झापा : दिन प्रतिदिन दुर्व्यसनीको सङ्ख्या बढ्दै गएसँगै लागूऔषध कारोबारमा झापा हटस्पट बन्ने हो कि भन्दै सबै क्षेत्रबाट चिन्ता व्यक्त गर्न थालिएको छ । 

झापामा दिन प्रतिदिन लागू औषध प्रयोग कर्ताको सङ्ख्या बढेसँगै प्रहरी अधिकारीहरूले नै चिन्ता व्यक्त गर्न थालेका छन् । विशेष गरी २० देखि ३८ वर्ष उमेर समूहका मानिस कुलतमा फस्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । 

इलाका प्रहरी कार्यालय अनारमनीको मातहतमा मात्रै पछिल्लो एक वर्षमा २९ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल बताउँछन् । लागूऔषधको बढ्दो दुर्व्यसनका कारण समाज पनि अहिले उत्तिकै चिन्तित बनेको सामाजिक तथा शैक्षिक अगुवा भोजराज दाहालको भनाइ छ । 

कोरोना कहरका कारण सबै सीमा नाका बन्द हुँदा समेत लागूऔषध ओसारपसारमा संलग्न धेरै युवा पक्राउ समेत परिरहेका छन् ।  अहिले झापामा लागूऔषध नियन्त्रणका लागि प्रहरी मात्र होइन आम नागरिक समेत लागि परेका छन् । तर, दिन प्रतिदिन दुर्व्यसनीको सङ्ख्या बढ्दै गएसँगै लागू औषध कारोबारमा झापा हटस्पट बन्ने हो कि भन्दै सबै क्षेत्रबाट चिन्ता व्यक्त गर्न थालिएको छ ।

यसैबिच, १ नम्बर प्रदेशको झापा र मोरङ जिल्लाको तिन छुट्टाछुट्टै स्थानबाट शनिवार दिउँसो नियन्त्रित लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो दमक नगरपालिका–७ का ३६ वर्षीय किसन अग्रवाललाई ३ ग्राम १६ मिलिग्राम लागु औषध ब्राउनसुगर सहित विराटनगर–१४ जतुवाबाट पक्राउ गरेको हो । 

यसै गरी विराटनगर महानगरपालिका-१६ दरैया बस्तीबाट लागु औषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका-१५ का २१ वर्षीय विशाल बिक, धरान-२ का २६ वर्षीय विकास कटुवाल, रामधुनी नगरपालिका–५ का ४२ वर्षीय रमेश लिम्बु र बराह नगरपालिका–५ का २० वर्षीय निकेश श्रेष्ठलाई लुपिजेसिक-१६ एम्पुल , फेनारगन-१६ एम्पुल र एभिल-१६ एम्पुल सहित शनिवार दिउँसो पक्राउ गरेको हो । 

यस्तै झापाको मेचीनगर नगरपालिका-१० धुलाबारीबाट नियन्त्रित लागु औषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ वर्षीय अनिल सहनीलाई २ ग्राम लागु औषध ब्राउनसुगर सहित शनिवार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।