धरान : झापा र मोरङ जिल्लाको तिन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका ३ झिलमिले पुल नजिकै शनिवार दिउँसो १ बजे मे १ च ५३९६ नम्बरको पिकअप र मे २ प ६९८४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक झापा अर्जुनधाराका ५३ वर्षीय छत्र बहादुर मगरको बि.एन्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।

यसै गरी झापाकै शिवसताक्षी नगरपालिका १ धरमपुरमा शनिवार राती पौने ९ बजे मे ३ प ९८९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका ११ का ३७ वर्षीय छबिरमन ढकालको बि.एन्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

यस्तै शनिवार दिउँसो साँढे २ बजे मोरङको उर्लाबारी नगरपालिका ८ मा को २० प ९७२७ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय दीपिका ओझाको ७ बर्षीया छोरी अजिति ओझालाई ठक्कर दिँदा घाइते भएकी बालिकाको गोदावरी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।