धरान : धनकुटा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

आज बिहान साँढे ९ बजेको समयमा धनकुटा नगरपालिका ७ मा ट्याक्टरको ट्रलीले लागेर धनकुटा नगरपालिका ८ की १५ बर्षीया बालिका रेबिका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रदेश १ १९-२-००३ त ६१२ नम्बरको ट्याक्टरले बालुवा अनलोड गर्ने क्रममा ट्याक्टर अनियन्त्रीत भई पल्टिएर उक्त ट्रलीले विद्यालय जाँदै गरेकी राईलाई ठक्कर दिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको हो ।

यसै गरी मोरङको विराटनगर महानगरपालिका ६ मा ट्याक्टरले साइकललाई ठक्कर दिँदा साइकलको पछाडि सवार रहेकी गङ्गा श्रेष्ठको ६ बर्षीया छोरी तृषा श्रेष्ठको मृत्यु भएको छ ।

आज बिहान पौने १२ बजेको समयमा को १ त ७०३९ नम्बरको ट्याक्टरले साइकललाई ठक्कर दिँदा घाइते भएकी बालिकाको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा दिउँसो सवा १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।