धरान : नेपाल टेलिभिजनमा प्रसारण भइरहेको रियालिटी सो वाई वाई नेपाल स्टारको टप ४ मा पर्न सफल भएका धरानका सन्देश बमजन लामाले आफूलाई भोट गरिदिन अनुरोध गरेका छन् ।

आज बराह किचनमा फाइनल यात्राबारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले सबै जनालाई टप वानमा पुग्न अझै भोटिङको आवश्यकता रहेको भन्दै एनएस १३ टाइप गरेर ३३००१ मा पठाइदिनका अनुरोध गरे । पत्रकार सम्मेलनमा उनले रातो र चन्द्र सूर्य बोलको गीत समेत गाएका थिए ।

उनलाई धराने लगायत देश विदेशबाट सहयोग मिलेकै कारण टप ४ मा आउन सफल भएको बुबा पशुपति तामाङले जानकारी दिए । उनले थप सहयोग गरिदिन सबैलाई आग्रह पनि गरे ।

यस पटक उनले वेस्ट पर्फर्मेन्स अवार्डसमेत जित्दै आएका छन् । थुप्रै गायन प्रतियोगितामा भिडन्त गरेका उनले वाई वाई नेपाल स्टारमा भने आफ्नो गायकीलाई निखार्दै आएका छन् ।

सानैदेखि गीत सङ्गीत प्रति रुचि राख्दै आएका गायक लामाले यसअघि नेपाल आइडल, नेपाली तारामा पनि प्रतिस्पर्धा गरेका थिए ।

आज बिहान धरानमा सन्देशलाई भव्य स्वागत गरेर र्‍याली समेत गरिएको थियो । मङ्गलवार धरानको भानुचोकमा साङ्गीतिक कार्यक्रम समेत गरिने (सन्देश बम्जन जिताऔँ) अभियानका संयोजक प्रेम क्षेत्रीले जानकारी दिए । उनी बुधवार फाइनलका लागि काठमाडौँ फर्किँदै छन् ।