इटहरी : सुन्दर देखी व्यापारिक नगरीको नारा बोकेको इटहरी यति बेला दुर्गन्धित नगरी बनेको छ ।

इटहरी उपमहानगरपालिका कार्यालयको गेटमै ढलको स्ल्याब फुटेर दुर्गन्ध फैलिन थालेको ३ वर्ष भयो । समयमा ढल निकासको मर्मत नहुँदा जम्मा हुने फोहोर दुर्गन्धित बनेर बाहिर निस्किएको हो ।

उपमहानगरको ठिक अगाडी हलेसी स्विट्स हाउस तन्दुरी खाजा घरबाट निस्कने फोहोर पानी सडकमा जम्मा भएको छ । खाजा घरका सञ्चालकका अनुसार ढल निकासको मर्मत नहुँदा पानी बाहिर निस्किएको हो ।

आफूहरूले उपमहानगरपालिकामा कुरा गर्दा केही दिनमा ढल निकास खोलिने जानकारी पाएको उनले बताए । खाजा घर अगाडीबाट निस्किएको ढल राजमार्ग पुगेको छ । ढल नियन्त्रण गर्न ढुङ्गा हालेर सडक पुर्ने काम भए पनि प्रभावकारी भएको छैन । पूर्व लाइनको अधिकांश स्थानबाट ढल सडकमा निस्किन थालेको छ ।

त्यससङै इलाका प्रहरी कार्यालय इटहरी छेवैमा रहेको द लिफ क्याफेबाट निस्किएको ढल सडकमा पुग्ने गरेको छ । क्याफेले राजमार्गमा ढल पुग्ने गरी कुलेसो खनेको छ ।

लामो समय देखी बर्खायाममा डुबानको समस्या भोग्दै आएको इटहरीले हिउँदको समयमा पनि त्यही समस्या भोगी रहेको छ । समयमै ढल निकासको प्रबन्ध नगर्दा इटहरी दुर्गन्धित सहरको रूपमा परिचित बन्दै छ ।

Itahari-Dhal