झापा : प्रदेश १ स्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि झापाको झापा गाउँपालिकाले जितेको छ ।

आइतबार सम्पन्न प्रतियोगितामा भोजपुरको आमचोक गाउँपालिकालाई सोझो सेटमा हराउँदै झापा गाउँपालिकाले उपाधि हात पारेको हो । आइतबार नै झापाको भद्रपुर नगरपालिकालाई हराएर फाइनल खेलमा पुगेको भोजपुरको आमचोकले झापा गाउँपालिकासँग भने एक खेल पनि जित्न सकेन ।

गौरादह नगरपालिकालाई जितेर फाइनलको यात्रा तय गरेको झापा गाउँपालिकाले लगातार तीन खेलमा जित निकालेर उपाधि कब्जा गरेको हो ।

उपाधिसँगै झापा गाउँपालिकाले ४० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरी उप विजेतामा चित्त बुझाएको आमचोक गाउँपालिका भोजपुरले २५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

प्रतियोगीताको वेस्ट स्पाईकरमा रोमन बस्नेत, वेस्ट सटरमा सागर भट्टराई, वेस्ट बलरमा डम्बर बस्नेत र प्लेयर अफ द टुर्नामेण्टमा रोहित सिवाकोटी भएका छन् । प्रतियोगीताको आयोजक दमक भलिबल सघं रहेको थियो भने प्रदेश १ का विभिन्न १७ वटा पालिकाले सहभागिता जनाएका थिए ।