पथरी : मोरङको पथरी शनिश्चरे-४ मा रहेको एक घरबाट लागुऔषध ब्राउनसुगर सहित चार जना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका १९ वर्षीय साजन राई, २२ वर्षीय छिरिङ राई र २४ वर्षीय नवराज राई रहेका छन् भने भोजपुर साल्पासिलोछो-२ का १९ वर्षीय निराज राई रहेका छन् ।

घरमा लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चारै जनालाई आइतबार नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात् उनीहरू उपर चेक जाँच गर्दा ६३० मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल ९० ट्याब्लेट, सस्पोइन ५४ ट्याब्लेट , ४ राउन्ड गोली, १ थान खोका, १ थान खुकुरी, नगद ६ हजार ७ सय ३० रुपैयाँ र निजहरूले प्रयोग गरेको को १४ प ४७२५ नम्बरको मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।