धरान : झापाको बिर्तामोड ४ भद्रपुर रोड स्थित र बिर्तामोड ६ बुटाबारी एरियाबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन् ।

भद्रपुर रोडबाट पक्राउ पर्नेमा झापा गाउँपालिका ५ शर्णामतीका ३० वर्षीय मिलन राजवंशी रहेका छन् । उनलाई १२ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।

यसै गरी बुटाबारीबाट पक्राउ पर्नेमा बिर्तामोड ६ का २० वर्षीय सुनिल राई र बिर्तामोड ७ का २३ बर्षिय रुपेश गुरुङ रहेका छन् । उनीहरूलाई ७ ग्राम ६० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो । विशेष सुराकका आधारमा उनीहरू तिनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आईताबार पक्राउ गरेको हो ।

यस्तै आईताबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा ९ मगर चोक एरियाबाट १२०० ग्राम गाँजा सहित बुद्धशान्ती १ का ५३ वर्षीय लक्ष्मी प्रसाद खतिवडालाई पक्राउ गरेको छ ।

यसै गरी मोरङको विराटनगर १५ स्थित सीमा एरियाबाट भारतीय नागरिक लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत अररिया जोगवनी १० का १७ वर्षीय कालु कुमार शर्मा रहेका छन् । उनलाई आईताबार सीमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले NITRAVET ७५ ट्याब्लेट, SPASMO-PROXYVON-४० ट्याब्लेट र DIALEX-DC-९५ बोतल लागुऔषध सहित पक्राउ गरेको हो ।

यसरी प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका पाँचै जना माथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको छ ।