धरान : धरान बजार सोमबार बन्द हुन्छ । मुख्य बजारमा चहलपहल अलि कम हुन्छ तर सोमबार बजारका सबै पसल बन्द भए पनि धरान-१२ स्थित छाताचौक देखि केही केही तल पश्चिम साइटमा धूमधामले सोमबारे बजार लाग्ने गर्दछ ।

Sombare-Hat-1

सोमबारे बजारमा अरू चिज नपाए पनि कपडा, जुत्ता चप्पल र घरेलु सामाग्री लगायतका सामाग्री सस्तोमा पाइने भएकोले सर्वसाधारणको सोमबारे बजारमा निकै ठुलो घुइँचो लाग्ने गरेको छ । सोमबार धरान बजार बन्द भए पनि सोमबारे हाटको रौनक भने बढेको छ ।

Sombare-Hat-4

सोमबारे बजारमा चप्पल खरीदगर्दै गरेको अवस्थामा भेटिएकी मनिता राईले भनिन्, प्रायः म यो बजारमा आइरहन्छु सामान खरीद गर्न नआए पनि के नयाँ पाइन्छ भन्ने उत्सुकता लागिरहन्छ । अर्का सरोज विकले भने बाहिर हजार पर्ने सामान यहाँ २ सय देखी ५ सय रुपैयाँसम्ममा पाइन्छ ।

पहिले पहिले फुटपाथमा लाग्ने सोमबारे बजार अहिले फुटपाथमा लाग्न छोडेको छ । लकडाउन पछि फेरि लाग्न सुरु भएको छ । कोरोनाको कारण बन्द रहेको सोमबारे बजार फेरि लाग्न थालेको भए पनि बजारमा भिडभाड हुने भएकोले कोरोना सङ्क्रमणको जोखिम रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् ।

Sombare-Hat-2 सोमबारे बजारमा धरान, इटहरी, दुहबी, तरहरा लगायतका ठाउँबाट करिब ५० जना व्यापारीहरूले व्यापार गर्दै आएका छन् । व्यापारीले २ सय देखि ३ सय सम्म भाँडा तिर्ने गरेको सोमबारे बजार व्यवस्थापन समितिका अदित श्रेष्ठले बताए ।

सोमबार धरान बजार बन्द भए पनि सोमबारे बजारको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ । यसको राम्रो व्यवस्थापन गर्नुका साथै कोरोनाको जोखिम अझै रहेकोले सम्बन्धित निकायको सोमवारे बजार व्यवस्थापनमा ध्यान जान अत्यन्तै जरुरी छ ।

Sombare-Hat-5