पथरी : ५ औँ रिफ्युजी च्यालेन्ज कपमा दुधे फुटबल क्लब झापालाई हराउँदै योङ ब्रदर शिरिजंगाले फाइनल यात्रा तय गरेको छ ।

सेमिफाइनल खेलको निर्धारित समयमा १-१ गोलको बराबरी खेलेपछि टाइब्रेकर मार्फत खेलको निर्णय लिइएको हो ।

खेलको ४ मिनेटमा यो शिरिजंगाका राजकुमार कन्दङ्वाको पासमा सनम भुजेलले उत्कृष्ट गोल गरेका थिए । दुधे फुटबल क्लबका मनिस लिम्बूको फ्रिकिकको सदुपयोग गर्दै खेलको १० औँ मिनेटमा विशाल दर्जीले हेड मार्फत गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।

यसअघि खेलको पहिलो मिनेटमा नै मनिस लिम्बूले गरेको उत्कृष्ट प्रहारलाई शिरिजंगाका गोल रक्षक विशाल दर्लामी मगरले विफल बनाइदिएका थिए ।

१९ औँ मिनेटमा सिरिजंगाका सनम धिमालको पासमा भुजेलले नै गरेको उत्कृष्ट प्रहार पोलमा ठोकिएर रिबाउण्ड भयो । निर्धारित समयमा खेल १-१ को बरबरीमा पुगेपछि टाइब्रेकर मार्फत शिरिजंगाले जित आफ्नो पोल्टामा पार्‍यो ।

टाइब्रेकरमा शिरिजंगाका दिपेश धिमाल, सनम भुजेल, राजकुमार कन्दङ्वा र दिनेश गिरीले गोल गरे । दुधेका तर्फबाट रेजिन माझी, सुशील मगर र प्रितम लिम्बूले गोल गरे भने सञ्जीव बुढाथोकी र निकेश श्रेष्ठ गोल गर्नबाट चुक्दा नतिजा सुम्पन बाध्य भए ।

खेलको म्यान अफ दि म्याच शिरिजंगाका सनम भुजेल घोषित भए । भुजेलले नगद २ हजार ५ सय प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोली ५१ हजार रुपैयाँ पुरस्कारमा सीमित रहने छ ।