इटहरी : नेकपा नेता तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले हिम्मत भए चुनावमा आउन चेतावनी दिएका छन् । प्रचण्ड-माधव समूह प्रति लक्षित गर्दै उनले चुनावबाट भागेर कहीँ नपुगिने बताए ।

सुनसरीको दुहबीमा ओली निकट कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन अकाट्य सत्य भएकोले निर्वाचनबाटै आफ्नो हैसियत थाहा पाउन चेतावनी दिएका हुन् ।

प्रचण्ड-नेपाल समूह चुनावबाट डराएको समेत आरोप लगाएका छन् । निर्वाचन लोकतन्त्रको अभिन्न पाटो रहेको जिकिर गर्दै पोख्रेलले भने ‘ताजा जनमतका लागि चुनावमा जाउन् भन्नु प्रधानमन्त्रीको प्रतिगामी कदम कहाँ हो र ? हिम्मत भए आउनुस् चुनाव लडौँ, जनमत बटुल्नुहोस् ।’

नेकपा भित्र बसेर कम्युनिस्ट सिद्धान्त बोकेका नेताहरू नै कम्युनिस्टलाई कमजोर बनाउन लागि परेको भन्दै आउँदो निर्वाचनले तिनलाई छिनोफानो गर्ने दाबी गरे ।

अनेक बहानामा प्रचण्ड नेपाल समूहले चुनावी तयारी गरिरहेको निर्वाचन आयोगलाई धम्क्याइरहेको उनले बताए ।

निष्पक्ष चुनाव गराउने तयारीमा रहेको आयोगलाई प्रभावित बनाउन डेलिगेसन जानेदेखि विभिन्न दबाब दिइएको उनको भनाई छ ।