विराटनगर : प्रादेशिक सञ्चार प्रतिष्ठान, प्रदेश १ का कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलबिच कार्य सम्पादन सम्झौता भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमतकुमार कार्कीको उपस्थितिमा कार्य सम्पादन सम्झौता गरिएको हो । कार्यसम्पादन करार पछि प्रतिष्ठानले काम सुरु गर्ने कार्यकारी निर्देशक शर्माले बताए । उनले प्रशिक्षण कार्यविधि, साङ्गठनिक संरचना निर्माण लगायतका काम सुरु गरिने बताए ।

प्रतिष्ठानको नियमावलीमा कार्यसम्पादन करार पछि मात्रै प्रतिष्ठानको काम सुरु हुने व्यवस्था उल्लेख रहेको कार्यकारी निर्देशक शर्माले बताए ।

सञ्चार प्रतिष्ठानले पत्रकारको क्षमताबद्धि, सञ्चारगृह सम्बन्धी नीति निर्माण, पत्रकारिता क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान, सूचनाको हक र पत्रकार आचार संहिता सम्बन्धी सचेतना अभिवृद्धि लगायतका काम गर्ने छ ।

प्रदेश सरकार मन्त्री परिषद्को गत पुस ६ गतेको बैठकले वरिष्ठ पत्रकार शर्मालाई प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।