विराटनगर : नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झालनाथ खनालले जनताको भविष्य सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

नेपाली जनताको सङ्घर्षले ल्याएको उपलब्धिलाई समाप्त पार्ने काम भएकाले सडक सङ्घर्षमा आउनु परेको उनले बताए ।

बिहीबार साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले नेपाली जनताको सङ्घर्षले ल्याएको उपलब्धि समाप्त गर्न भष्मासुरहरु निस्किएको बताए । उनले भने,‘ कहिले महेन्द्र, कहिले ज्ञानेन्द्र र अहिले ओली भष्मासुर भएर निस्के ।’ उपलब्धि जोगाउन नेपाली जनता सडकमा आएको नेता खनालले बताए । खनालले भने,‘ नेपाली जनताले निर्माण गरेको संविधान केपी ओलीले विध्वंस गरे ।’

संसद् पुनर्स्थापना अनिवार्य भएको उनको भनाई छ । संविधान बमोजिम संसद् पुनर्स्थापना हुने खनालको जिकिर छ ।

नेता खनालले संविधानले मध्यावधि निर्वाचनको परिकल्पना नगरेको बताए । उनले भने,‘ नेपालमा मध्यावधि निर्वाचन हुँदैन, आवधिक मात्र हुन्छ ।’ नेकपालाई सुदृढ गर्दै समाजवादमा जाने उनले बताए । खनालले भने,‘ नेपालमा जनवादी क्रान्ति सकियो ।’

समाजवाद स्थापना गरे पछि पनि स्वतन्त्रता र सार्वभौमसत्ताका लागि लडिरहनु पर्ने उनको भनाई छ । दुई तिहाइ बहुमत रहेकाले निर्वाचन आयोगले आफूलाई आधिकारिता दिने खनालको दाबी छ । आयोगले आफ्नो काम गर्दे जान्छ, अहिलेको काम नै अन्तिम हैन उनले भने ।

प्रदेशमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पारितका लागि लोकतन्त्र पक्षधरहरू एक हुने खनालले बताए ।