धरान : धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयन गर्दै देशलाई समृद्ध बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताएका छन् ।

नेपालका सबै खाले आन्दोलन सफल बनाउन नेपाली वीर सपुतको बलिदानी रहेको उपमहानगर प्रमुख राईले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

‘स्वतन्त्रताको पक्षमा निरङ्कुशता विरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् सहिदहरूको योगदान सधैँ स्मरणीय रहनेछ । आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञात अज्ञात महान् सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा उच्च सम्मान अर्पण गर्दछु’ शुभकामना सन्देशमा उल्लेख छ ।

देशलाई दिगो आर्थिक विकास सहितको समृद्ध राष्ट्र बनाउँदै सहिदहरूको सपना साकार पार्नका लागि एक भएर लाग्न प्रमुख राईले सबैलाई आग्रह पनि गरेका छन् ।

‘नेपाली माटोले जन्माएका सहिदहरू प्रति पुनः भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै विकास र समुन्नतिका लागि सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु’ शुभकामना सन्देशमा भनिएको छ ।

Sahid-Diwas-ko-Subhakamana