धरान : आज माघ १६ गते अर्थात् शहीद दिवस, देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज धरान उपमहानगरपालिकामा पनि एक कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाएको छ ।

शहीद दिवसको अवसरमा धरान उपमहानगरपालिकाले प्रदेश नं। १ का सभामुख, मेयर, उपमेयर, वडाका जनप्रतिनिधि र विज्ञ सल्लाहकारहरूले संयुक्त रूपमा सहिदहरूको फोटोमा माल्यार्पण गरी दिवस मनाएका हुन् ।

एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणा शासकले १९९७ सालको माघ १० गते काठमाण्डौको टेकुको पचलीमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश नं. १ का सभामुख प्रदीप कुमार भण्डारीले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानासाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहुति दिने वीर सपूतहरूको सम्झनामा शहीद दिवस मनाइँदै आएको बताए ।

सहिदहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र सम्म ल्याइ सार्वभौम बनाउन सहिदहरूले दिएको बलिदान भुल्न नहुने सभामुख भण्डारीको भनाई थियो ।

धरान उपमहानगरका प्रमुख तिलक राईले वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको सम्झनामा प्रत्येक वर्ष धरान उपमहानगरपालिकामा शहीद दिवस मनाइँदै आएको बताए ।

जुन मुलुकको शासन प्रशासन प्रति जनताको अभिरुचि रहेको बताउँदै जनताले आफ्नो लागि प्रतिनिधि चुन्ने, आफ्नो लागि ऐन नियम बनाउने र संविधान समेत बनाएर जनताले चाहेको जस्तो सरकार सञ्चालन भइरहेको उनले बताए ।

उपप्रमुख मञ्जु भण्डारी सुवेदीले ती महान् शहीदहरू प्रजातन्त्र प्राप्ति, व्यवस्थापन र निरङ्कुशता विरुद्ध लडेको बताइन् । नागरिक स्वतन्त्रता हकलाई सुनिश्चित तथा उठान गरेर जनतामा अधिकार स्थापना गर्ने महत्त्वपूर्ण विषयहरू भएको बताउँदै मुलुक सङ्घीय लोकतान्त्रिक तथा गणतन्त्रमा प्रवेश गरेको उपमेयर सुबेदीले बताइन् ।

शहीदका परिवारहरूको अवस्थाको बारेमा कार्यक्रममा वरिष्ठ पत्रकार एवं धरान उपमहानगरपालिकाका सल्लाहकार सदस्य हर्ष सुब्बाले नेपालको युग नै परिवर्तन गरेर चार सहिदहरूलाई सहिदको दर्जा दिएर दिवसको रूपमा मनाउँदै आएको बताए । आन्दोलनमा धरानका ज्ञान्दिप श्रेष्ठ लगायत दन्द्धकालमा धेरै सहिद भएको सुब्बाले बताए ।