चतरा : वराहक्षेत्र वडा नं. १ ले गठन गरेको युवा परिषद्ले किशोरीहरूलाई बलात्कार विरुद्ध आत्मरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

समाजमा बढ्दो बलात्कारजन्य घट्नालाई न्यूनिकरण गर्ने उद्देश्य राखेर वडा नं १ कार्यालयको सहयोगमा अभिमुखीकरण कार्यक्रम आयोजना भएको हो ।

बलात्कार मुक्त समाज निर्माण , हामी सबैको अभियान नारा सहित आयोजित कार्यक्रम शुक्रवार र शनिवार गरेर दुई दिन सम्म सञ्चालन हुनेछ । कार्यक्रममा दिलमान राईले किशोरीहरूलाई आत्मरक्षा कोलागि सिपमा सहजीकरण गर्ने छन् ।

शुक्रवार परिषद्की अध्यक्ष प्रति साहाको अध्यक्षता कार्यक्रम उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रममा स्थानीय पत्रकार सन्तोष गुप्ताले बलात्कारको घटना न्यूनीकरणको सन्दर्भमा आफ्नो बिचार राखेका थिए । गुप्ताले पछिल्लो समय वराहक्षेत्र नगरपालिका सहित देशभर घटेका बलात्कारको घटनाको बारेमा जानकारी समेत गराएको थिए ।

इलाका प्रहरी कार्यालय चतरा प्रमुख प्रहरी नायव निरीक्षक अमरकुमार लावतीले बलात्कारमा संलग्न अपराधीलाई कानुनी दण्डको बारेमा सहजीकरण, कानुनी उपचारको विषयमा सहजीकरण गरेका थिए । त्यस्तै आदर्श माविका सहायक प्रधानाध्यापक ज्ञानबहादुर पाण्डेले किशोरीहरूलाई चेतनात्मक र चेतनामूलक तरिकाले बलात्कारको घटनाबाट मुक्त हुन सकिन्छ व्यवहारिक ज्ञानमा सहजीकरण गरेका थिए ।

नागरिक समाजका अगुवा इश्वर थापाले युवाहरूलाई सामाजिक विकृतिको विरुद्धमालाग्न आव्हान समेत गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि वडा नं १ का अध्यक्ष सुरेश श्रेष्ठले वडामा सबै टोल टोलमा यस्ता किसिमका सचेतना र अभिमुखीकरण तालिम आयोजना हुनु पर्नेमा जोड दिए ।

उनले वडामा हुने सामाजिक विकृति न्यूनीकरण गर्न आफू लागि परेको बताए । कार्यक्रम वडा नं १ को नव- निर्मित भवनमा आयोजना भएको थियो ।