धरान : नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरले एक महिना विद्युत कटौती हुनसक्ने सूचना सार्वजनिक गरेको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालय मार्फत सार्वजनिक प्रादेशिक कार्यालय विराटनगरको लेटर हेडमा उल्लेखित सूचनामा दुहवी–खनार ३३ केभी डबल सर्किट प्रसारण लाइनको सुदृढीकरण गर्नुपर्ने भएकाले एक महिनासम्म विहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत कटौती हुन सक्ने उल्लेख गरिएको छ ।

कार्यालयका अनुसार इटहरी वितरण केन्द्रबाट वितरित विद्युत आगामी फागुन १२ गतेसम्म ९ घण्टा कटौती हुन सक्ने उल्लेख छ ।

यसको असर धरानमा पनि सामान्य देखिन सक्ने नेपाल विद्युत प्राधिकरण वितरण शाखा धरानका प्रमुख प्रताप बरालले बताए । पुरानो तार झारेर नयाँ तार दुहबी देखि खनार सम्म फेर्नुपर्ने भएकोले प्रशारण लाइननै अवरुद्ध गरेर काम गर्नुपर्ने भएकोले धरानमा पनि यसको असर सामान्य पर्न सक्ने हुन्छ । तर इटहरीमा भने ९ घण्टा विजुली अवरुद्ध हुन सक्ने प्रमुख बरालले बताए ।