इटहरी : इटहरीको पर्यटकीय क्षेत्रको रूपमा परिचित 'काब्यबाटी'का मास्ने तयारी थालिएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ५ ले जनताकै हितमा भन्दै वडा कार्यालय बनाउने तयारी थालेसँगै काब्यबाटीका मासिने भएको हो ।

केही वर्ष अगाडी अस्पताल बनाउने तयारी सुरु भएपछी स्थानीयको विरोधमा सो प्रक्रिया रोकिएको थियो । पछिल्लो समय वडा भवन बनाउने तयारी सुरु भएको छ । जसको विरोधमा स्थानीयले आवाज उठाउन थालेका छन् ।

Itahari-Kabyabatika-1

२०६० सालमा मूर्तिकला कार्यशाला, चित्रकला शिविर, नाट्य शिविर जस्ता कार्यक्रम गरे सँगै काब्यबाटीका प्रचलीत हुन थालेको हो । कलाकार बिक्रम श्रील नेतृत्व गरेपछी त्यसले काब्यबाटीकाको रुप लिएको पाइन्छ । उनै बिक्रम श्री अहिले व्यक्तिगत स्वार्थका कारण काब्यबाटीका मासिने खतरा भएको भएको बताउँछन् ।

पटक-पटक श्रष्टामाथि आक्रमण भइरहेकोले विकासको नाममा इतिहास मेटाउन लागीएको उनको तर्क छ । कहिले स्वास्थ्य चौकी त कहिले क्यान्सर अस्पताल बनाउने बहानामा ऐतिहासिक क्षेत्र विनाश गर्न लागेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

दुई बिघा १९ कट्ठा क्षेत्रफलमा रहेको उक्त जमिनमा हाल वडा कार्यालयको भवन बनाउने प्रक्रिया अगाडि बढाइएको छ । पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिकाको स्वामित्वमा रहने गरी यो जग्गा काब्यबाटीकाको नाममा छ ।

प्रदेश सरकारले त्यसको संरक्षण तथा प्रवर्धनको लागी ६० लाख खर्च गरी सकेको छ । भित्री भागमा कंङ्क्रीट प्रयोग गरेर रुख काट्ने बाहेक ६० लाखको तात्वीक उपलब्धि नभएको बताउँछन् स्थानीय रमेश पोखरेल ।
कहिले अस्पताल र कहिले वडा कार्यालयको नाममा जनताको सम्पत्ति मास्न खोजिएको उनको भनाई छ ।

अलिकति खाली ठाउँ देख्ने बित्तिकै जनप्रतिनिधीहरुमा मास्नै पर्छ भन्ने मानसिकता हाबी भएको उनले बताए ।
काब्यबाटीकाको संरक्षणको विषयमा केही दिन अगाडी १ सय ५० जना भन्दा बढी स्थानीयले विरोध पत्र बुझाईसकेका छन् ।

स्थानीय राजनीतिकर्मी तथा समाजसेवीले समेत वडा भवन बनाउने विषयमा विरोध जनाइसकेका छन् ।

Itahari-KabyaBatika-3

जनताकै हितमा भन्दै वडा कार्यालय बनाउने तयारी

उता वडा नम्बर ५ का वडाध्यक्ष कल्याण कार्की भने जनताकै हितमा काम गर्न खोजेको बताउँछन् ।

आफ्नै नेतृत्वमा वडा कार्यालय बनाउने योजना रहेकोले सोही अनुसार काम गरेको उनको भनाई छ । थोरै जग्गामा मात्र भवन बन्ने भएकोले बाकी जग्गाको संरक्षण हुने उनको तर्क छ ।

काब्यबाटीकामा यौन गतिविधि हुन थालेको भन्दै त्यसलाई रोक्न पनि वडा कार्यालय आवश्यक रहेको उनले बताए ।