धरान : धरान उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो अन्तर कर्मचारी मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रवारबाट सुरु भएको प्रतियोगिता आज शनिवार सम्पन्न भएको हो । प्रतियोगिता धरान १३ स्थित रहेको जनपथ विद्यालयको ब्याडमिन्टन कोर्डमा भएको हो ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम रमेश राई, द्धितिय राजेन्द्र राई, तृतीय राम माबो र चौथो चन्द्र प्रकाश खनाल भए भने महिलातर्फ प्रथम श्वेता राई, द्धितिय लक्ष्मी तामाङ, तृतीय सम्झना विक र चौथो मिना थुलुङ भएका छन् ।

पुरुष र महिलातर्फका प्रथम, द्धितिय, तृतीय र चौथो भएका खेलाडीले पुरस्कार क्रमशः नगद ५ हजार, ३ हजार, १ हजार ५ सय रुपैयाँसहित प्रमाण पत्र र ट्रफि हात पारे । यस्तै उत्कृष्ट खेलाडीतर्फ रमेश राई र लक्ष्मी तामाङ घोषित हुँदै नगद एक एक हजार रुपैयाँ पाउन सफल भए ।

सुवास राईको अध्यक्षतामा भएको प्रतियोगितामा विजेता खेलाडीहरूलाई धरान उपमहानगरका प्रमुख तिलक राई, धरान उपमहानगरका सल्लाहकार सदस्य अनिल श्रेष्ठ, शिक्षा महाशाखा प्रमुख रामचन्द्र कार्की, धरान १४ का वडाध्यक्ष र जेनिथ स्कुलका प्रिन्सिपल सुमन जबेगुले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धरान उपमहानगरका प्रमुख तिलक राईले विजेता खेलाडीहरूलाई बधाई तथा शुभकामना दिदै शरिरलाई चुस्त दुरुस्त राख्न दैनिक शारीरिक व्यायाम गर्न सुझाव दिए ।

दैनिक रूपमा हल्काफुल्का व्यायाम गर्दा स्मरण शक्तिको ह्रास र व्यवहार परिवर्तन रोक्न सहायता गर्ने मेयर राईले बताए । कर्मचारीहरूको मनोबललाई उच्च राख्न धरान उपमहानगरपालिकाले वर्षेनी यस्तो प्रतियोगिताहरू आयोजना गर्दै आएको उनले बताए ।

प्रतियागयतामा २८ पुरुष र २२ जना महिला कर्मचारीले सहभागी जनाएको धरान उपमहानगरका सामान्य प्रशासन शाखा प्रमुख गणेश प्रसाद खतिवडाले जानकारी दिए ।