धरान : उदयपुर जेसीजले महिला उद्यमीहरूको व्यवसाय बिस्तार गर्न तथा नेपाल सरकारबाट अनुदान प्राप्त बैङ्किङ कर्जाका बारेमा सचेतना प्रदान गर्न माघ १७ गते महिला उद्यमी कर्जा बारे सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।

उदयपुर जेसीजकी अध्यक्ष जेसी शर्मिला थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण सानिमा बैकका ऋण विभागका प्रमुख विष्णु कार्कीले गरेका थिए ।

त्रियुगा नगरपालिका वडा नं. १२ का मुस्लिम र मधेसी समुदायका करिब ३५ जना महिलाहरूको सहभागिता रहेको सो कार्यक्रममा महिला उद्यमीहरूले सहुलियतपूर्ण कर्जा कसरी लिने ? कर्जाको ब्याजमा कसरी अनुदान प्राप्त गर्ने ? तथा धितो बिना कति रकम सम्म कर्जा लिन सकिन्छ ? भन्ने सम्बन्धमा जानकारीहरू प्रदान गरिएको अध्यक्ष थापाले बताइन ।

करिब १५ वर्षदेखि एकल नेतृत्वमा काष्ठ उद्योग (काठ मिल) सञ्चालन गरिरहेकी महिला उद्यमी हीरावती ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको संयोजन उदयपुर जेसीजकी सदस्य सोनिका राईले गरेकी थिइन ।

उदयपुर जेसीजले विगत ५ दिनदेखि महिला, बालबालिका तथा समुदायमा समर्पित रही कार्यक्रमहरू आयोजना गरिरहेको छ ।

Udayapur-JCI-mahila-Sacheta