इटहरी : इटहरी उपमहानगरमा माघ १८ देखि २६ गते सम्म अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।

इटहरी उपमहानगर,प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सञ्चालित छ ।

माघ १८ गते वडा नम्बर २ को पूराणचौकमा, माघ १९ गते वडा नम्बर ३ को स्वास्थ्य क्लिनिकमा, माघ २० गते वडा नम्बर ५,७ र ८ का लागि इटहरी अस्पतालमा र माघ २१ गते वडा नम्बर ४,६ र ९का लागि इटहरी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुनेछ ।

यसैगरी माघ २२ गते वडा नम्बर १०,११ र १२का लागि र माघ २३ गते वडा नम्बर १३ र १४का लागि खनार स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

माघ २५ गते वडा नम्बर १७ र १८का पकली स्वास्थ्य चौकीमा, माघ २६ गते वडा नम्बर १५ र १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा र माघ २७ गते वडा नम्बर १,१९ र २० का लागि २० नम्बर वडा कार्यालयमा स्वास्थ्य शिविर हुने छ ।

स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श, कुपोषण सम्बन्धी परामर्श दिइने सामाजिक विकास शाखाकी अधिकृत माया राईले जानकारी दिइन । उनका अनुसार हाड जोर्नीको अप्रेसन र हातखुट्टा बाङ्गिएको भए उपचारका लागि रेफर गरिने छ ।

यस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्रका लागि सूची समेत तयार पारिने छ ।

निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुनका लागि अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई इटहरी उपमहानगरले आग्रह गरेको छ ।