धरान : धरान उपमहानगरपालिकाको आज बिहान बसेको कार्यपालिका बैठक शोक प्रस्ताव पारित गर्दै भोलि बिहान ८ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।

धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक यस भन्दा अघि बस्ने तय भएको भए पनि राजनीतिक घटनाक्रमको कारण यस भन्दा अघि बैठक बस्न सकेको थिएन ।

आजको कार्यपालिका बैठकमा धरान ११ वडा कार्यालयको कार्यालय सहयोगी देश सुवास राईको निधन भएकोले कर्मचारीको निधन प्रति शोक प्रस्ताव पारित गर्दै भोलि फेरि बिहान ८ बजे बैठक बस्ने गरी कार्यपालिका बैठक स्थगित गरिएको धरान उपमहानगरपालिकाका प्रेस संयोजक पारस राईले जानकारी दिएका छन् ।

११ नम्बर वडाका कर्मचारीको निधन भएकोले आज धरान उपमहानगरपालिका र सम्पूर्ण वडा कार्यालयहरूमा शोक बिदा दिने निर्णय पनि भएको छ ।

कार्यपालिका बैठकमा मेलमिलाप कार्यविधि, कुकुर व्यवस्थापन कार्यविधि, नगर सभाको मिति तोक्ने, वातावरणीय परीक्षण प्रतिवेदन सम्बन्धमा, खानेपानी मुहान उपयोग सम्बन्धमा र निर्माण सामाग्री दररेट सम्बन्ध लगायत १३ बुँदाको विभिन्न एजेन्डाहरू माथि छलफलको तयारी भएको मेयरका सोकिय सचिव राजमान श्रेष्ठले जानकारी दिए ।