इटहरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रदेश १ मा काँग्रेसले अविश्वासको प्रस्तावको पक्षमा मत हाल्नुपर्ने बताएका छन् ।

यो सरकार निरङ्कुश कदममा अगाडि बढेकोले त्यसको विपक्षमा काँग्रेसले मतदान गर्नुपर्ने उनले बताए । अहिले यो सरकारलाई समर्थन गर्दा अधिनायकवादको समर्थन हुने उनको तर्क छ ।

संविधानमा उल्लेख नै नभएको कसरी काम भयो रु संसद विघटनको विरुद्धमा त्यो बेला ठुलो स्वरमा बोल्ने प्रधानमन्त्री आफै कसरी त्यसको हिमायती कसरी बने ?, उनले प्रश्न गरे । ब्रिटेनमा पनि दुइतिहाइ सांसदले मात्र संसद विघटन गर्न पाउँछ ।

अहिले जुन विघटन भएको छ यसमा काँग्रेस प्रष्टरुपले संसद् पुनर्स्थापनाको पक्षमा छ । त्यस कारण अब त्यस असंवैधानिक कदमको विरुद्धमा लाग्नुस् ।

यो सरकारलाई हौसला दिने प्रचण्ड माधव भएको उनको भनाइ छ । साइबर सेना लगाएर अभिव्यक्ति स्वतन्त्रता माथी हमला भएको उनले बताए ।

यो सरकारले तत्कालीन नेकपा एमालेका कार्यकर्ताका हत्यारा काली बहादुर खामको बचाउ गर्ने र पार्टी प्रवेश गराउने खेलमा सरकार लागेको उनले प्रस्ट पारे । संसद् विघटन गरेपछि प्रधानमन्त्री स्वतः कामचलाउ हुनुपर्नेमा महत्त्वपूर्ण निर्णय गर्दै हिँडेको उनको आरोप छ ।

कोरोना महामारीबाट मृत्यु भएका मोरङ क्षेत्र नम्बर ३ (ख) का तत्कालीन सभापति ईश्वरी कोइराला र उनका दाजु गोपाल कोइरालाको शोक सभामा सम्बोधन गर्दै उनले सुरुमै सबैलाई मास्क लगाउन आग्रह गरे । स्वर्गीय कोइरालाको निवास लेटाङको बुधबारेमा आयोजित सभामा मास्क लगाएर मात्र हिँड्न आग्रह गरे ।

“कृपया मास्क लगाउनुस् केही दिन अगाडि मैले मेरै दाइ निरञ्जन कोइरालालाई कोरोनाको कारण गुमाए । उनले भने, आज हामी कोरोनाकै कारण मृत्युवरण गरेका मेरा मित्र गोपाल कोइराला र भाइ ईश्वरी कोइरालाको शोक सभामा छौ । यो कोरोनाको औषधी नै मास्क भएकोले मास्क लगाउन नभुल्नु होला“ कोइरालाले भने ।