धरान : प्रदेश नं. १ मा कोरोना विरुद्धको खोप अहिले सम्म ९ हजार ७ सय ६२ जनाले लगाएका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अस्पताल विकास महाशाखाका प्रमुख सागर प्रसाईँलेका अनुसार पहिलो दिन प्रदेश नं १ भरी १,३९६ जनाले, दोस्रो दिन २,५५१ जनाले, तेस्रो दिन ३,८११ जनाले र चौथो दिन २,००४ जना गरी ९,७६२ जनाले खोप लगाएका छन् ।

प्रदेश १ मा ३५,५७६ जना फ्रन्टलाईनमा खटिएकाहरूलाई कोरोना विरुद्धको खोप लगाइनुपर्नेमा अधिकांश डराएर खोप लगाउन नआएको बताइएको छ ।

पहिलो दिन थोरै मात्रै आउनु र अहिले दैनिक बढ्दै जानुले पनि फ्रन्टलाईनमा खटनेहरु डराएको स्पष्ट भएको बताइन्छ । अहिले सम्म खोप लगाउनेहरू मध्ये लक्षित सङ्ख्याको २७.४ प्रतिशत मात्रै भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश नं. १ को १४ जिल्लाको २५ वटा खोप केन्द्रबाट माघ २३ गते सम्म १० दिन सम्म खोप लगाइनेछ । सुरुमा खोपको असर कस्तो गर्छ भनेर लगाएनन् तर अहिले असर केही नदेखिएपछि भने खोप केन्द्रहरूमा खोप लगाउन आउनेको सङ्ख्या बढ्न थालेकोले लक्ष अनुसारकै फ्रन्टलाईनरहरुले खोप लगाउने विश्वास रहेको प्रमुख प्रसाईँले बताए ।