विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ २५ गतेका लागि आह्वान गरिएको छ ।

संसद् सचिवालयले आइतबार सूचना प्रकाशित गरी बैठक आह्वान गरिएको प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले बताएका छन् ।

संसद्को पहिलो बैठक गत माघ ७ गते बसेको थियो । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले संसद् आह्वान संसद् सूचना वाचन गरेर अनिश्चितकाका लागि स्थगित बैठक माघ २५ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिव पराजुलीले बताए ।

लामो समय सम्म बैठक स्थगित भएपछि प्रदेशसभामा मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्तावको प्रक्रिया अघि बढ्न सकेको छैन । मुख्यमन्त्री राई विरुद्ध नेकपाको दाहाल-नेपाल समूहले गत पुस १२ गते अविश्वास प्रस्ताव पेस गरेको थियो ।

मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावको पक्षमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले मतदान गर्ने लगभग निश्चित भएपछि मुख्यमन्त्री राई र उनी पक्षको नेकपाले संसद् बैठक चल्नै नदिने तयारीमा लागेको छ ।

मुख्यमन्त्री राई विरुद्ध अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गर्ने नेकपाका १६ सांसदलाई संसद् प्रवेश गर्न नदिने र बैठकमा प्रवेश गरे बैठक चल्न नदिने नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताएका छन् ।

सभामुख प्रदीपकुमार भण्डारीले नेकपाको दुवै पक्षले एक अर्कालाई कारबाही गरे पनि त्यो कार्यान्वयन नहुने बताएका छन् । मुख्यमन्त्री राई समक्ष सभामुख भण्डारीले पहिलो बैठक सुरु हुनुअघि नै कारबाही कार्यान्वयन नगर्ने अडान लिएका थिए ।

मुख्यमन्त्री राईले सभामुखलाई अविश्वास प्रस्ताव खारेज गर्न दबाब दिएका थिए । सभामुख भण्डारीले रितपूर्वक अविश्वास प्रस्ताव आएकाले खारेज नहुने बताइसकेका छन् ।