पथरी : भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास आयोगले अघि सारेको कार्यक्रम अनुरूप मोरङको पथरी शनिश्चरे नगरका वडा वडामा लगत सङ्कलन कार्य सुरु भएको छ ।

नगरले प्रत्येक वडाका लागि नियुक्त गरेका ३-३ जना कर्मचारीमार्फत आइतबार वडा नम्बर २, ३ र ७ मा लगत सङ्कलन कार्य सुरु भएको छ । सोमबारबाट अन्य वडामा पनि लगत सङ्कलनको काम अघि बढ्ने नगरपालिका कार्यालयले जनाएको छ ।

शनिवार वडा नम्बर ७ को उज्यालो टोलबाट फारम भरेर लगत सङ्कलन कार्य प्रारम्भ गरिएको हो । त्यहाँका १५ घर परिवारको आइतबार लगत सङ्कलन भएको छ । २ को बुद्ध चोकबाट र ३ को भोट घुम्ती क्षेत्रबाट लगत सङ्कलनको काम थालिएको छ ।

कही कतै आफ्नो र परिवारको नाममा जग्गा नभएको तथा ऐलानी जग्गा भोग गरेकाले अनुसूची ३ को ‘भूमिहीन सुकुम्वासी’ फारम भर्नुपर्ने र अन्यत्र केही जग्गा समेत भएको तर १० वर्षअघिदेखि आफूले ऐलानीपर्ति जग्गा जोत भोग गर्दै आएकाले अनुसूची ४ को ‘अव्यवस्थित बसोबास’को फारम भर्नुपर्ने हुन्छ ।

नगरमा बसोबास विवरण र तथ्याङ्क सङ्कलन इकाई कार्यालय स्थापना गरी १० वडाबाट ३-३ जनाका दरले कर्मचारी नियुक्त गरिएको छ ।