इटहरी : इटहरीमा आफ्नो घर आँगनमै स्वास्थ्य परीक्षण गर्न पाउँदा अपाङ्गता भएका व्यक्तिहरू उत्साहित भएका छन् ।

इटहरी उपमहानगरमा अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि सुरु निस्शूल्क स्वास्थ्य शिविरको पहिलो दिन वडा नम्बर २ का ७८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले उद्घाटन गरेको सो शिविरमा करुणा फाउन्डेसनकी सुनसरी संयोजक सगुन गुरुङले स्वास्थ्य शिविरका बारेमा जानकारी दिए । डा. गुञ्जन त्रिताल, डा. उपासना पोखरेल, अडियोलोजिष्ट स्पिचथेरापिष्ट रमेश चौधरी लगायतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्दै छन् ।

कार्यक्रममा अपाङ्गता परिचय पत्र नलिएका ५४ जनाको सूचीकरण गरिएको छ । इटहरीमा माघ १८ देखि २६ गते सम्म अपाङ्गताभएकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत निस्शूल्क स्वास्थ्य शिविर सुरु भएको हो । इटहरी उपमहानगर,प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सञ्चालित छ ।

आज वडानम्वर ३ को स्वास्थ्य क्लिनिकमा,माघ २० गते वडा नम्बर ५,७ र ८ का लागि इटहरी अस्पतालमा र माघ २१ गते वडा नम्बर ४,६ र ९का लागि इटहरी अस्पतालमा निस्शूल्क स्वास्थ्य शिविर हुने छ । यसै गरी माघ २२ गते वडा नम्बर १०,११ र १२का लागि र माघ २३ गते वडा नम्बर १३ र १४ का लागि खनार स्वास्थ्य चौकीमा निस्शूल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

माघ २५ गते वडा नम्बर १७ र १८ का लागि पकली स्वास्थ्य चौकीमा, माघ २६ गते वडा नम्बर १५ र १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा र माघ २७ गते वडा नम्बर १,१९ र २० का लागि २० नम्बर वडा कार्यालयमा स्वास्थ्य शिविर हुने छ ।

स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण,मनोपरामर्श,कुपोषण सम्बन्धी परामर्श दिइने सामाजिक विकास शाखाकी अधिकृत माया राईले जानकारी दिइन् । उनका अनुसार हाड जोर्नीको अप्रेसन र हातखुट्टा वाङ्गगिएको भए उपचारका लागि रेफर गरिने छ ।

यस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामाग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्रका लागि सूची समेत तयार पारिने छ । निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुनका लागि अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई इटहरी उपमहानगरले आग्रह गरेको छ ।