धरान : भारतमा चलिरहेको एशियाली प्रतिष्ठित फुटबल प्रतियोगीता आईलिगमा खेल्नका लागि नेपालका राष्ट्रिय खेलाडि प्रकाश बुढाथोकी भारतीय क्लबबाट अनुबन्धित भएका छन् । एशियाली फुटबल क्लबहरु सहभागीता रहने उक्त फुटबल प्रतियोगीतामा बुढाथोकी नेरोका फुटबल क्लबबाट खेल्न अनुबन्धित भएका हुन् ।

प्रतियोगीतामा खेल्न भारत प्रस्थान गर्नुअघि बुढाथोकी लाई धरान फुटबल क्लबले आज सोमबार विहान सफलताको शुभकामना सहित विदाई गरेको छ । उनले धरान फुटबल क्लब बाट खेल जीवन शुरु गरेका हुन् । विदाई कार्यक्रममा प्रमुख अतिथि क्लबका संरक्षक मीनकुमार सुब्बाले धरान फुटबल क्लब बाट खेल शुरु गरेका प्रकाशको अन्तर्राष्ट्रिय खेल यात्रा शुरु भएकोमा बधाई दिदैं सफलताको शुभकामना प्रकट गरे ।

उनले भने ‘नेपाली फुटबल खेलाडिको सफलताले पहिले देशको नाम उचो राख्नेछ, त्यसपछि खेलाडि जुन ठाउँको हो, जुन क्लबको हो त्यस्को प्रतिष्ठा बढाउने छ ।’ प्रकाशको सफलता नेपाल र धरान तथा धरान फुटबल क्लबका लागि गौरवको विषय हुने बताए ।

क्लबका अध्यक्ष तथा एन्फा मानार्थ उपाध्यक्ष किशोर राईले भारतको प्रतिष्ठित फुटबल प्रतियोगीतामा धरान फुटबल क्लबबाट खेल जीवन शुरु गरेर राष्ट्रिय खेलाडिको रुपमा चर्चित प्रकाश अनुबन्धित हुनुले नेपाली फुटबल खेलक्षेत्रले व्यवसायीक क्षेत्रमा अर्को खुडकिलो उक्लिएको बताए ।

उनले भने ‘धरानको फुटबलको इतिहास गौरवशाली छ, चार दशक अघि त्रिभुवन कप जितेको धरानको इतिहासले नयाँ इतिहास कायम गर्दै आएको छ ।’ इतिहास बनाउने क्रममा धरान फुटबल क्लबको योगदान महत्वपूर्ण रहेको बताउँदै उनले प्रकाश बुढाथोकी भारतीय क्लबबाट आइलिगमा खेल्न अनुबन्धित हुनु यसैको एक कडि भएको बताए ।

उक्त अवसरमा राष्ट्रिय खेलाडि बुढाथोकीले प्रतियोगीताको मैदानमा आफुले देशको प्रतिष्ठा र क्लबको इञ्जत लाई ध्यानमा राखेर राम्रो खेल प्रदर्शन गर्ने प्रतिबद्धता जनाउँदै भने ‘देशको प्रतिष्ठाका लागि म बढी भन्दा बढी मिहिनेत गर्नेछु ।’ पत्रकार हर्ष सुब्बाले बुढाथोकीको सफलताको कामना गरेका थिए । क्लबले उनलाई पकेट खर्चका लागि ५ हजार रुपया प्रदान गरेको थियो ।

विदाईका अवसरमा प्रकाशलाई प्रमुख अतिथि सुब्बा, अध्यक्ष राई लगायता सहभागी खेलाडिहरुले खादा लगाएर सम्मान तथा बधाई ज्ञापन गरेका थिए ।