झापा : झापाको कचनकवलमा आज बिहान भएको आगलागीमा परि एक जनाको जलेर मृत्यु भएको छ ।

आगलागीमा परेर मृत्यु हुनेमा कचनकवल गाउँपालिका १ स्थित घेराबारी बस्ने अन्दाजी ५५ वर्षीय गोवर्धन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।

उनका अनुसार एक तले काठको खम्बा टिनको बेरा र टिनकै छानो भएको घरमा आज बिहान अचानक आगलागी भएको थियो । घरभित्रै सुतेका राजवंशीको जलेर मृत्यु भएको जनाइएको छ ।

आगलागीमा परी उनको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ, भने एउटा माउ गाई, दुई वटा बाछा र तिन वटा बाख्रा समेत जलेर मरेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।